नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वसम्मतिलाई प्राथमिकता दिइएको कारण संसदीय दल नेता छान्न ढिलाइ भएको बताएका छन्।
नेता चयनमा ढिलाइबारे पत्रकारहरूलाई प्रष्टीकरण दिँदै सभापति थापाले यसलाई 'लाचारी' नभई 'परिपक्वता' भनेका छन्।
हाम्रो पार्टीमा प्रतिस्पर्धा हुनु स्वभाविक हो, तर यस पटक धेरै जसो सांसदहरूको चाहना सर्वसम्मत नेतृत्व चयन होस् भन्ने थियो । पार्टीभित्र प्रतिष्पर्धा गराउन सजिलो छ, तर सर्वसम्मत गराउन धेरै गाह्रो छ । तपाईंहरूले बाहिर ढिलो भयो भनिरहँदा हामी भित्र निर्णयलाई परिपक्व बनाउँदै थियौँ । यो ढिलाइ अल्छी गरेर वा लाचार भएर भएको होइन । सबै पक्षसँग संवाद र छलफल गर्नुपर्ने भएकाले केही समय लागेको हो,' उनले भने।
आङदेम्बेलाई नेता चयन गर्ने प्रक्रियामा अर्का वरिष्ठ नेता अर्जुन नरसिंह केसी र अन्य आकांक्षी सांसदहरूले पनि सहमति जनाएको उनले बताए।
विशेष गरी युवा पुस्ताका सांसदहरूले पार्टीको राष्ट्रिय आवश्यकतालाई बुझेर सर्वसम्मत नेतृत्वका लागि आफूहरू त्याग गर्न तयार रहेको बताएका थिए ।
आङदेम्बेको नेतृत्वले पार्टीको मूल आदर्श र अहिलेको राष्ट्रिय आवश्यकतालाई आत्मसात गर्ने विश्वास सभापति थापाले व्यक्त गरे। उनले नयाँ र पुराना सबै सांसदहरूलाई एकतावद्ध बनाएर लैजान दल नेता सक्षम हुने विश्वास व्यक्त गरे।
सोमबार कांग्रेसले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा दल नेता चयन गरेको छ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकमा आङदेम्बेको नामलाई सर्वसम्मत रूपमा प्रस्ताव गरी संसदीय दल बैठकले अनुमोदन गरेको हो। -न्युज एजेन्सी नेपाल