नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रूपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रूपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरूमाझ सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरेर कांग्रेसले प्रमुख प्रतिपक्ष दलको रूपमा कडा रूपमा प्रतिवाद गर्ने नेता आङ्देम्बेको कार्ययोजना थियो।
उनले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा कांग्रेस प्रस्तुत हुने समेत बताए।
उनले भने, ‘हामीले सरकारको राम्रो कामको समर्थन र जनताले मन दुखाउने खालको काम राज्यबाट भयो वा देखियो भने हामी त्यसको सशक्त रूपमा प्रतिवाद गर्दछौं। विशेष गरेर हामीले अपनाएको प्रणाली विशेष गरेर लोकतन्त्रमा संसद प्रतिपक्षको हुन्छ। र प्रतिपक्षको जिम्मेवारी विशेष गरी तपाईंहरू सामिप्यतामा रहेर धेरै कुराहरू तपाईंबाट लिएर हामी काम गर्नेछौँ। र मुलुकलाई पार्टीले लिएको नयाँ अवधारणाअनुसार अघि बढाउन काम गर्नेछु।’
नेता आङ्देम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दाबी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताए। –न्युज एजेन्सी नेपाल