जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानद्वारा अमेरिका अपमानित भइरहेको बताएका छन्।
मध्यपूर्वको द्वन्द्व छिट्टै अन्त्य हुने कुनै निकास रणनीति आफूले नदेखेको चेतावनी दिँदै उनले यस्तो धारणा राखेको फाइनान्सियल टाइम्सले जनाएको छ।
इरान विरुद्ध अमेरिका र इसराइलले शुरू गरेको युद्धले आर्थिक वृद्धिलाई नोक्सान पुर्याइरहेको, विश्वव्यापी तेल र ग्यास आपूर्तिमा अवरोध सिर्जना गरेको बेलामा अमेरिका र युरोपेली देशहरूबीचको सम्बन्धमा तनाव पैदा गरेको छ। यस्तो बेलामा अमेरिकाको कट्टर समर्थन गर्ने मर्जले यस्तो टिप्पणी गरेका हुन्।
सोमबार पश्चिमी जर्मनीको एक विद्यालय भ्रमणका क्रममा बोल्दै अमेरिका स्पष्ट रूपमा कुनै रणनीतिबिना यस युद्धमा होमिएको थियो र वार्तामा पनि अमेरिकासँग वास्तवमै कुनै ठोस रणनीति नभएको उनले औंल्याएका छन्।
'इरानीहरू स्पष्ट रूपमा धेरै कुशलतापूर्वक वार्ता गरिरहेका छन्, वा केवल धेरै कुशलतापूर्वक वार्ता नै गरिरहेका छैनन्,' उनले थपे, 'इरानी नेतृत्वले एउटा सिङ्गो राष्ट्रलाई अपमानित गरिरहेको छ।'
यसैबीच इरानले स्ट्रेट अफ हर्मुज पुन: खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई नयाँ प्रस्ताव गरेको छ।
अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियार सम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
अहिले आणविक विषयमा कस्तो सम्झौता गर्ने भन्नेबारे इरानी नेतृत्व विभाजित भएकाले वार्ता अघि बढ्न सकेको छैन। त्यसैले सो मुद्दालाई पछिका लागि थाति राख्न इरानले प्रस्ताव गरेको देखिन्छ।
तर अहिले नै हर्मुज खोले आणविक हतियार सम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो प्रस्ताव नमान्ने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)