नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरू बेग्लाबेग्लै छलफलमा जुटेका छन्।
नेता पूर्णबहादुर खड्काले आज काठमाडौंको धुम्बाराहीमा आफूनिकट नेताहरूको भेला गरेका छन्।
उक्त भेलामा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, नेताहरू सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना, प्रकाशशरण महत, उमाकान्त चौधरीलगायत सहभागी छन्।
खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरूलाई भेलामा निम्त्याएका छन्।
खड्काले राखेको भेलामा नेता शेखर कोइराला र उनीपक्षीय नेताहरू धनराज गुरूङ, बद्री पाण्डे, जीवन परियारलगायत सहभागी छैनन्। खड्काले बोलाएको यसअघिको भेलामा पनि शेखर अनुपस्थित थिए। विशेष महाधिवेशनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहँदा भने खड्का र कोइराला एकै ठाउँ देखिएका थिए।
शेखरनिकट एक पूर्वपदाधिकारीका अनुसार शेखरले पनि बेग्लै भेला गर्दैछन्। वैशाख १७ गते बागमती प्रदेशस्तरीय भेला गर्ने तयारी गरिएको उनले जानकारी दिए।
गत पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति आएको छ। विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन उपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्।