सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा गोल्छालाई उपस्थित गराउन आदेश दिएको हो।
गोल्छाकी श्रीमती सीमा गोल्छाले आफ्ना श्रीमानलाई प्रहरीले गैरकानुनी थुनामा राखेको भन्दै आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
उक्त रिटमाथि सुनुवाइ गर्दै विपक्षी महान्यायाधिवक्तालाई बाटोको म्याद बाहेक सूचना पाएको मितिले २४ घण्टाभित्र गोल्छा सहित लिखित जबाफ पेस गर्न आदेश दिएको छ।
‘बाटोको म्याद बाहेक सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दीसहित लिखित जबाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एकएक प्रति नक्कल समेत साथै राखी विपक्षीहरूका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जबाफ परे वा अवधि व्यतित भएपछि, निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाइ नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको छ।
गोल्छा नेपाल बीमा प्राधिकरणको प्रतिवेदनअनुसार सेयर कारोबारमा बीमा ऐन विपरीत कसुर गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।
उनलाई सोमबारमात्रै जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले तीन दिन हिरासतमा राख्न म्याद थप भएको थियो।