नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने घोषणा गरेका छन्।
बुधबार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले फागुन २१ गतेको निर्वाचन नतिजालाई लिएर पार्टीभित्र गम्भीर समीक्षा हुने बताएक हुन्।
उपाध्यक्ष पौडेलले विगत १० वर्षमा एमालेले दुई तिहाइ नजिकको सरकार बनाउने जस्ता ठूला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उल्लेख गरे।
पौडेलले भने, ‘यस पटक अत्यन्तै नराम्ररी पराजित भएका छौँ, गम्भीर धक्का, गम्भीर असफलता हामीले व्यहोर्नुपरेको छ। तर म यहाँहरूलाई के बताउन चाहन्छु भने यो धक्का, यो असफलतालाई चिरेर हामी उठ्छौँ। यो असफलतालाबाट शिक्षा लिन्छौँ र हामी फेरि पनि उठ्छौँ, त्यो आत्मविश्वासका साथमा अगाडि बढ्नुपर्छ।’
आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ को मार्गनिर्देशनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने उनले बताए।
निराशा र पलायन समस्याको समाधान नभएको भन्दै उनले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ संगठन निर्माणमा जुट्न आह्वान गरे।
वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत अध्यादेशको बाटो रोजेको भन्दै उनले त्यसमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत बताए।-न्युज एजेन्सी नेपाल