चुनावअगाडि नै टिकट दिने प्रतिबद्धता व्यक्त नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
पार्टी संसदीय दलको बुधबारको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएका हुन्।
‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लबको अभ्यास हुँदैछ। तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै पनि प्रतिबद्धता नगर्न निर्देशन छ,’ प्रवक्ता मनिष झाले भनेका छन्।
कतै त्यस्तो गलत अभ्यास भेटिए कारबाहीको भागिदार हुनुपर्ने रास्वपाले चेतावनी पनि दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सबै सांसदहरूको लेटरहेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन निर्देशन दिइएको झाले बताए। आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न पनि रास्वपाले निर्देशन दिएको छ।
‘धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ,’ झाले भनेका छन्।