नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नै बहुमत भएको संसदप्रति सरकारले विश्वास नराखेको बताएका छन्।
सरकारले संवैधानिक परिषदसहित ५ अध्यादेश ल्याएको सन्दर्भमा बोल्दै उनले सरकारले नागरिकलाई हेप्ने र ढाँट्ने काम गरेको बताए।
‘आफ्नै बहुमत भएको संसदप्रति सरकारको विश्वास छैन। त्यसकारण संसद छलेर अध्यादेश ल्याउँदैछ भन्ने प्रष्ट रूपमा हामीले उठाएको हो,’ सभापति थापाले भने।
सरकारले नागरिकलाई पनि हेपेको उनको भनाइ छ।
‘नागरिकलाई किन हेपेको भने केही पनि बताउन नपर्ने? केही भन्नै नपर्ने, सरकारका केही मन्त्रीले संसदको तयारी नभएको हुँदा संसदकै अनुरोधमा हामीले बैठक स्थगित गर्नुपर्यो भनेर भनेको सुनेँ। अस्तिसम्म हेपेको कुरा थियो अब ढाँटेको भयो,’ सिमरामा आज पत्रकारहरूसँगको कुराकानीमा उनले भने, ‘पहिला हेप्नुभयो, अहिले ढाँट्नुभयो, आखिर केका लागि संसद स्थगन गरेको भन्ने प्रष्ट भइहाल्यो, अध्यादेश ल्याएको कुरा।’
संवैधानिक परिषदमा यसअघिका प्रधानमन्त्रीले आफ्नो इच्छाअनुसार काम गर्न यस्तै चलखेल गर्दा आफूहरूले असहमति राखेको पनि सभापति थापाको भनाइ छ।