नेपाली सेनाले विपद् प्रतिकार्य पूर्वतयारीका लागि सुकुम्बासीहरूको विवरण मागिएको बताएको छ।
बुधबार विज्ञप्ति निकाल्दै सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको सम्बन्धमा स्पष्टीकरण दिएको हो।
‘नेपाली सेनाले विगतका वर्षहरूमा भएका विपद्का घटनाहरूलाई समेत मध्यनजर गर्दै नजिकिँदै गरेको वर्षातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारीको योजना गर्दै आएको छ,’ सेनाले विज्ञप्तिमार्फत् भनेको छ।
सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा उद्धार, राहत वितरण र पुनर्स्थापनलाई सहज बनाउने र सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक संकलन गरिएको बताएको हो।
‘सुकुम्बासीहरूको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरू प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनस्र्थापनाका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्सांकन गर्नका लागि तथ्यांक अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ।