नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई निलम्बन गर्ने निर्णय गरेको छ।
कान्छाराममाथि वैशाख ७ गते अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो।
उनले पार्टी नेतृत्वका विरूद्ध वद्नियत राखी भ्रमपूर्ण र तथ्यहिन अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको थियो।
कान्छारामले वैशाख ८ गते स्पष्टीकरण बुझाएका थिए।
स्पष्टीकरण जबाफ प्रारम्भिक रूपमा हेर्दा सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले कान्छारामलाई सभापतिबाट निलम्बन गरिएको अनुशासन समितिले जनाएको छ।
‘निज पूर्ण बहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेल सम्मका लागि कान्छारामलाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ,’ अनुशासन समिति बैठकको निर्णय सार्वजनिक गर्दै कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले भने।