नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कदमजमको सुन्दर र सार्थक चित्र पार्टीभित्र देखिएको बताएका छन्।
उनले पार्टी संसदीय दलमा यस्तो चित्र देखिएको उल्लेख गरेका हुन्।
कर्णालीबाट बासना थापा प्रमुख सचेतक, दलित समुदायबाट पदम परियार राष्ट्रिय सभा सचेतक, मधेसी समुदायबाट अभिषेकप्रताप शाह संसदीय दल उपनेता, जनजातिबाट भीष्मराज आङ्देम्बे संसदीय दल नेता र निश्कल राई सचेतक तथा महिलाबाट कमला पन्त राष्ट्रिय सभा दल नेता चयन भएको उनको भनाइ छ।
तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले कदमजमको व्याख्या गर्दै त्यसको प्रयोग गरेको बताउने गरेको थियो।
देउवाले नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएका बेला कदमजमको प्रयोग गरेको चर्चा कांग्रेसभित्र हुने गर्छ।
कांग्रेसले राष्ट्रिय सभा दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएर पन्तलाई मनोनीत गरेको थियो भने राष्ट्रिय सभा सचेतकबाट कृष्णबहादुर रोकायालाई हटाएर दमबहादुर परियारलाई मनोनीत गरेको थियो।