राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरूङमाथि छानबिन हुने बताएका छन्।
आज सिंहदरबारमा सांसदहरूसँग अनौपचारिक कुराकानीपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले सुधनमाथि छानबिन हुने बताएका हुन्।
‘मलाई लाग्छ छानबिन प्रक्रिया अब चाँडै सुरू हुन्छ। त्यो कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि तपाईंहरूको जानकारीमा आइहाल्छ। अहिले उहाँले नैतिकता देखाएर आफूमाथि प्रश्न उठेपछि छानबिन गरियोस् नै भन्नुभएको छ,’ उनले भने।
सभापति लामिछानेले निवर्तमान गृहमन्त्री गुरूङले आफूमाथि छानबिन गरिदिन आग्रह गरेको पनि बताए।
‘यो कुरा मलाई पनि भन्नुभएको छ, ममाथि छानबिन गर्नुपर्यो भनेर। उहाँले अरूलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ,’ उनले भने।
गुरूङ २७ दिन गृहमन्त्री रहेर बाहिरिएका थिए। उनीमाथि सम्पत्तिको स्रोत र पक्राउ परेका व्यवसायी दीपक भट्टसँगको 'कनेक्सन' लाई लिएर प्रश्न उठेको थियो।