अमेरिकाले इरान विरूद्ध प्रयोगका लागि हाइपरसोनिक (ध्वनी भन्दा घटीमा पाँच गुणा गति भएको) मिसाइल पठाउने सम्भावना बढेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरान विरुद्ध सम्भावित प्रयोगका लागि मध्यपूर्वमा 'डार्क इगल' हाइपरसोनिक मिसाइल पठाउन अनुरोध गरेको भनेर ब्लुमबर्गले लेखेको छ।
झण्डै २८ सय किलोमिटर दुरीसम्म प्रहार गर्न मिल्ने सो हाइपरसोनिक मिसाइल गतवर्ष नै बनाइ सक्ने लक्ष्य भए पनि निर्माण सम्पन्न भएको थिएन।
रूस र चीनले हाइपरसोनिक मिसाइल बनाइ सके पनि अमेरिकाले अहिलेसम्म संचालनमा आएको छैन। उक्त अनुरोधमा हालसम्म कुनै निर्णय भने भइसकेको छैन। इरानमा 'डार्क ईगल' पठाए अमेरिकाले पहिलो पटक हाइपरसोनिक मिसाइल परिचालन गर्नेछ।
इरानको भित्री भागमा रहेका ब्यालिस्टिक मिसाइल लन्चरहरूमाथि प्रहार गर्न सेन्ट्रल कमाण्डले लामो दूरीको हाइपरसोनिक मिसाइल मागेको हो।
अहिले अमेरिकाले प्रयोग गरिरहेका सटिक निशाना लाउने मिसाइलले नभेट्ने गरी इरानले आफ्ना लन्चरहरूलाई देशको भित्री भागमा सारेकाले लामो दुरी भएको हाइपरसोनिक मिसाइल मागेको ब्लुमबर्गले जनाएको छ।
अमेरिकाले अहिले प्रयोग गरिरहेका मिसाइलले करीब ४८० किलोमिटर मात्रै प्रहार गर्न मिल्छ। ती मिसाइलले टाढा रहेका इरानका लन्चरमा प्रहार गर्न लडाकु विमान इरानको धेरै भित्रै प्रवेश गर्नु पर्ने हुन्छ।
इरानका प्राय जसो एयर डिफेन्स सिस्टम अमेरिका र इसराइलले ध्वस्त पारिसके पनि भित्र पस्दा इरानले लडाकु विमान झार्ने खतरा लायमै छ। त्यसैले सेन्ट्रल कमाण्डले लामो दूरीको हाइपरसोनिक मिसाइल मागेको देखिन्छ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा सुरू गरेको युद्ध रोक्न अमेरिका र इरानले अप्रिल ७ मा दुई साताको युद्धविराम घोषणा गरेका थिए। त्यसको केही दिनपछि दुई पक्षबीच पाकिस्तानको इस्लामाबादमा वार्ता भएको थियो।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानका सभामुख मोहम्मद बाघेर गालिबाफले आ-आफ्नो वार्ता टोलीको नेतृत्व गरेका थिए। तर मुख्यतः इरानको आणविक हतियार कार्यक्रमबारे सहमति जुट्न नसकेपछि उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।
त्यसपछि पनि पाकिस्तानमार्फत दुवै पक्षको कुराकानी भए पनि अझै सहमति भएको छैन। वार्ता सफल नभए इरानमाथि प्रहार गर्न सेन्ट्रल कमाण्डले हाइपरसोनिक मिसाइल मागेको हो।
अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले आफ्नो नजिकै रहेको साँघुरो समुद्री मार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गरेको छ। यो जलमार्ग प्रयोग गरेर विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत ग्यास पैठारी हुन्छ। त्यो पैठारी बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ। यसले विश्व अर्थतन्त्रमा नराम्रो प्रभाव परेको छ।
सुरूमा इरानले मात्र हर्मुज बन्द गरेको थियो। अरूका पानीजहाज रोके पनि इरानी तेल बोकेका जहाजहरू चलिरहेका थिए। अरू देशका केही जहाजलाई पनि महँगो शुल्क लिएर इरानले छोडिरहेको थियो। यस कारण इरानले युद्ध सुरू भएको बेलाभन्दा धेरै आम्दानी गरिरहेको थियो।
तर पाकिस्तानमा भएको वार्ता असफल भएपछि अप्रिल १३ देखि ट्रम्पले पनि हर्मुजमा इरानमाथि नाकाबन्दी लगाए।
त्यसपछि इरानको आम्दानीको स्रोत सुकेको छ। इरानमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति पनि कम भइरहेको मानिन्छ। त्यसैले इरानले आर्थिक समस्याका कारण आणविक कार्यक्रम सम्बन्धी अमेरिकाको सर्त मान्न बाध्य हुनेछ भन्ने ट्रम्पको अनुमान देखिन्छ।
ट्रम्पले लगाएको नाकाबन्दीले इरानलाई पनि दबाब परेको छ। पछिल्लो समय हर्मुज पुन: खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई इरानले नयाँ प्रस्ताव गरेको छ। अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियारसम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको छ।
तर अहिले नै हर्मुज खोले आणविक हतियार सम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर ट्रम्पले प्रस्ताव मानेका छैनन्। नाकाबन्दी लम्बिए इरानले थप समस्या भोग्ने अमेरिकी आकलन छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)