अमेरिकाले फेरि आक्रमण गरे त्यसको जबाफ कठोर र पीडादायी हुने चेतावनी इरानले दिएको छ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सका एक वरिष्ठ अधिकारीले अमेरिकाले सामान्य स्तरको आक्रमण गरे पनि त्यसको जबाफ कठोर ढंगले दिइने बताएका हुन्।
उनले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र युद्धपोतहरू समेत इरानी निशानामा पर्ने चेतावनी दिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
वायुसेनाका कमान्डर माजिद मौसवीले अमेरिकाको सम्भावित हमलाको कडा जबाफ दिने बताएका छन्।
'हामीले मध्यपूर्वमा रहेका उनीहरूको सैन्य अड्डाहरूको हालत के भयो भनेर देख्यौं। अब उनीहरूको युद्धपोतको पनि त्यस्तै हालत देखिनेछ,' मौसवीले इरानी सञ्चारमाध्यहरूसँग भनेका छन्।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले छोटो समयमै वार्ताबाट समाधान निस्कने अपेक्षा नभएको बताएका छन्। उता तेहरानका केही क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारिएको र साना ड्रोनहरू खसालिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोयटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा फेरि आक्रमण गर्ने विषयमा उच्च अधिकारीहरूसँग स्थानीय समयअनुसार बिहीबार ब्रिफिङ लिँदैछन्।
अमेरिकाले इरान वरपर ठूलो संख्यामा सेना र युद्धपोतहरू जम्मा गरेको छ। इरानलाई सम्झौताका लागि दबाब दिनका लागि अमेरिकाले सैन्य शक्ति जम्मा पारेको भए पनि लामो समयदेखि वार्ता अवरूद्ध हुँदा ट्रम्प फेरि सैन्य कारबाहीतर्फ अघि बढ्ने सम्भावना पनि रहन्छ।
तर गत सोमबार ह्वाइट हाउसकै सिचुएसन रूममा उच्च अधिकारीहरूसँग भएको छलफलमा ट्रम्पले इरानमाथिको नाकाबन्दी लामो समयसम्म कायम राख्न तयार हुनू भनेर निर्देशन दिएका थिए।
फेरि युद्ध गर्ने वा युद्धबाट हात झिक्ने भन्दा नाकाबन्दी कायम राख्दा कम नोक्सान हुने ट्रम्पले ब्रिफिङ गरेको भनेर मंगलबार अमेरिकी अखबार द वासिङ्टन पोस्टले लेखेको थियो।
इरानले आगामी २० वर्षसम्म आणविक कार्यक्रम सञ्चालन गर्न नहुने अमेरिकाको सर्त छ। तर इरान ५ वर्षका लागि त्यो सर्त मान्न तयार छ।
साथै उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्नुपर्ने पनि अमेरिकाको सर्त छ। तर इरान अमेरिकालाई सो उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्ने पक्षमा छैन।
इरानसँग आणविक हतियार बनाउन मिल्ने झन्डै ४०० किलो उच्च प्रशोधित युरेनियम रहेको रिपोर्ट सार्वजनिक भइसकेको छ।
सो युरेनियम रूसलाई हस्तान्तरण गर्न भने इरान सकारात्मक देखिन्छ। पाकिस्तानमा दोस्रो चरणको वार्ता नहुने भएपछि इरानी विदेशमन्त्री अब्बास अरागची इस्लामावादबाटै रूस प्रस्थान गरेका थिए।
अरागचीको रूस भ्रमण युरेनियमबारे छलफल गर्न गएका हुन सक्ने बताइएको छ।
पछिल्लो समय हर्मुज पुन: खोल्न र युद्ध अन्त्य गर्न अमेरिकालाई इरानले नयाँ प्रस्ताव गरेको छ। अहिलेलाई हर्मुज खोलेर युद्ध अन्त्य गर्ने र आणविक हतियारसम्बन्धी वार्ता पछि गर्न इरानले प्रस्ताव गरेको छ।
तर अहिले नै हर्मुज खोले आणविक हतियारसम्बन्धी वार्तामा इरानमाथि दबाब हाल्न नसकिने भनेर ट्रम्पले प्रस्ताव मानेका छैनन्। केही दिन नाकाबन्दी लम्बिए इरानले थप समस्या भोग्ने अमेरिकी आकलन छ।
अहिले तेल बेच्न नपाएकाले इरानको तेल भण्डार भरिन लागेको बताइन्छ। भण्डारण क्षमतामा दबाब बढेपछि इरानले उपयोग गर्न छाडिएका पुराना ट्यांकीसमेत प्रयोग गर्न थालेको भनेर मंगलबार मात्रै अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले लेखेको छ। केही साता नाकाबन्दी लम्बिए इरानले तेलखानी नै बन्द गर्नुपर्ने अवस्था देखिन्छ।
खानी चालु नहुँदा बिग्रिन सक्छन्। खानी बिग्रिए युद्ध अन्त्य भएपछि पनि इरानले तुरून्तै तेल निकाल्न सक्ने छैन। त्यसैले इरानले ढिलो-चाँडो आणविक कार्यक्रमबारे आफ्नो सर्त मान्नेछ भनेर ट्रम्पले नाकाबन्दी लगाइरहेका छन्।
त्यसकारण लामो समयसम्म नाकाबन्दी जारी राखेर इरानलाई गलाउने र आफूले भने अनुसारको सर्तमा सहमति गराउने रणनीति ट्रम्पले लिएका छन्।