नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले अब विशेष महाधिवेशन र यसबाट आएको नेतृत्वका विषयमा पक्ष वा विपक्षमा बहस गरिराख्नुको औचित्य नरहने बताएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले तत्कालै र सर्वोच्च अदालतले हालै वैधानिकता दिइसकेको उल्लेख गर्दै उनले अब पार्टी एकताबद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका हुन्।
नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले काठमाडौंमा हालै बेग्लाबेग्लै भेला आयोजना गरेकोप्रति लक्ष्य गर्दै उनले त्यस्ता भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्न भनेका छन्।
अग्रज नेताहरूलाई सानेपामा स्वागत गर्न आफूहरू आतुर रहेको उनको भनाइ छ।
‘हामी पार्टीका सम्पूर्ण अग्रज, नेता तथा सबै साथीहरूलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत गर्न तयार र आतुर छौं। सबै भेला,छलफल यहीँ गरौं र पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिऔं,’ महामन्त्री घिमिरेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्।
यतिबेला पार्टी इतिहासको चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको पनि उनले बताएका छन्।
‘पार्टीले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेको छ। यस परिवर्तनलाई राज्यको संवैधानिक अंग निर्वाचन आयोगले तत्कालै र सर्वोच्च अदालतले समेत केही दिन अघि नै वैधानिक ठहर गरिसकेको छ। यस परिप्रेक्ष्यमा अब विशेष महाधिवेशन र परिवर्तित नेतृत्वका विषयमा पक्ष/विपक्षमा बहस गर्नुको कुनै औचित्य छैन,’ उनले भने, ‘अहिलेको हाम्रो दायित्व, जिम्मेदारी र कर्तब्य पार्टीलाई एकताबद्ध राख्ने तर्फ अग्रसर हुनु हो।’
उनले पार्टीलाई एकताबद्ध बनाउन सबै सचेत र गम्भीर हुनुपर्नेमा जोड दिए।
‘विगतका आपसी मतभेद र कटुतालाई भुलेर आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टीको १५ औं महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न क्रियाशील बनौं,’ उनले भने।