टेकुको वंशीघाट, बल्खु, शंखमूल क्षेत्रबाट विस्थापित भएका सुकुम्बासीलाई सरकार पाँच ठाउँमा होल्डिङ सेन्टर बनाएर राख्ने तयारी गरेको छ।
विवरण संकलनपछि उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको प्रधानमन्त्री बालेन शाहका सञ्चार विज्ञ दीपा दाहालले जानकारी दिइन्।
आज विस्थापित भएकामध्ये ७२ जनाले सुकुम्बासीका रूपमा आफ्नो नाम टिपाएको दाहालको भनाइ छ।
‘आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइसक्नु भएको छ। सयौं लाइनमा हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको छ।’
विवरण संकलनसँगै त्यहाँ आइपुगेका नागरिकहरूलाई स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श दिइरहेको उनको भनाइ छ। जसले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत पुर्याएको उनको भनाइ छ।