नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले संसद सचिवालयमा दर्ता भएका दुई महत्वपूर्ण विधेयकलाई अविलम्ब सदनमा पेस गरी छलफल अगाडि बढाउन सभामुखसँग आग्रह गरेको छ।
बुधबार दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले संसदीय सचिवालयमा दुई वटा विधेयक दर्ता भएको वर्ष दिन बितिसक्दा पनि टेबल नभएको हुँदा कांग्रेस संसदीय दलले पुनः ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
कांग्रेसले संसद सचिवालयमा २०८१ चैत ३ गते टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय व्यवस्था गर्न बनेको विधेयक र २०८२ जेठ २१ गते बडघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयमा दर्ता गरेको थियो।
ती विधेयकहरू हालसम्म सदनमा पेस हुन सकेका छैनन्।
दुई विधेयक संसद सचिवालयमा दर्ता भएको एक वर्ष बितिसक्दा पनि सदनमा पेस नगरिएको तथा त्यसबारे छलफलसमेत हुन नसकेको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संसदमा पेश नहुनु, छलफलसमेत नहुनु जस्ता अवस्थाले संसदको कार्य प्रणाली माथि नै प्रश्न उब्जिएको कांग्रेसको संसदीय बैठकले निष्कर्ष निकालेको छ।
साथै संसदीय दलले ती विधेयकहरूलाई अविलम्ब सदनमा पेस गरी आवश्यक छलफल अगाडि बढाउन सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।