प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङदेम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
शनिबार बिहान शीतलनिवास पुगेर आङ्देम्बेले राष्ट्रपति पौडैललाई भेटवार्ता गरेका हुन्।
राष्ट्रपति पौडेलसँग आङ्देम्बेले करिब १ घन्टा छलफल गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
छलफल समसामयिक विषयमा भएको भनिएको छ।
आङ्देम्बेले सरकारले सिफारिस गरेको अध्यादेशहरूबारेमा विपक्षी दलहरुको धारणा राष्ट्रपतिलाई अवगत गराएका थिए।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गते संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
बैशाख १० गते बसेको मन्त्रिपरिषद् बैठकले आह्वान भइसकेको अधिवेशन स्थगित गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सोहीअनुसार राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए।
त्यसपछि सरकारले विभिन्न ६ वटा अध्यादेश जारीका लागि राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो।
संवैधानिक परिषद सम्बन्धी, सहकारी सम्बन्धी, विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठान सम्बन्धी, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी, सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस भएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलेले सहकारीसम्बन्धी अध्यादेश, सार्वजनिक खरिद सम्बन्धि अध्यादेश, सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्।
अध्यादेश जारी गर्न सिफारिस भएपछि झन्डै दुई तिहाईको सरकारले संसद छलेको भन्दै विपक्षी दलहरूले आलोचना गर्दै आएका छन्।