प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएर यसअघि राजनीतिक नियुक्ति लिएका १५९४ जनालाई पदमुक्त गर्दा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि परेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले 'सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३' जारी गरेसँगै विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र सदस्य गरी ६ जनाको पद खाली भएको हो।
हितेन्द्रदेवलाई विद्युत प्राधिकरणका कर्मचारीहरू 'काबिल' इन्जिनियर मान्छन्। उनले संस्थाको नेतृत्व गर्ने अवसर नपाएका पनि होइनन्।
तर क्षमता भएर पनि संस्थाको नेतृत्व गर्ने सवालमा उनी पटक पटक 'अनलक्की' साबित भएका छन्।
उनले अहिलेसम्म तीनपल्ट विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त पाए। तर तीनैपल्ट पूरा कार्यकाल काम गर्न पाएनन्। उनी पदावधि नसिकँदै बीचैमा खोसुवामा परे।
यसअघि असोज ५ गते अन्तरिम सरकारको पालामा तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङले उनलाई कार्यकारी निर्देशक पदबाट हटाएका थिए।
उनी त्यसविरूद्ध कानुनी उपचारमा गएपछि मंसिर २२ गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले उनलाई पूर्ववत् विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काम गर्न परमादेश जारी गरेको थियो।
उक्त आदेशपछि जिम्मेवारीमा फर्केका शाक्यले पाँच महिना पनि काम गर्न पाएनन्।
त्यसअघि उनलाई जम्मा ६ महिनामै पदबाट हटाइएको थियो। हितेन्द्र चारवर्षे कार्यकालका लागि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। कार्यकालको ६ महिना पुग्न नपाउँदै तत्कालीन ऊर्जामन्त्री घिसिङले उनलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोगमा सरूवा गरेका थिए।
यति मात्र होइन, २०७७ कात्तिकमा कार्यकारी निर्देशक नियुक्त हुँदा पनि शाक्यले पूरा कार्यकाल काम गर्न पाएनन्। त्यस बेला उनले ८ महिना मात्रै काम गर्न पाएका थिए। उनलाई २०७८ साउनमा कार्यकारी निर्देशकबाट हटाएर कुलमान घिसिङलाई ल्याइएको थियो।
प्राधिकरणमा लामो समय बिताएका धेरै कर्मचारीहरू कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवैलाई काबिल इन्जिनियर मान्छन्। उनीहरू दुवै प्राधिकरणका राम्रा इलेक्ट्रिकल इन्जिनियरमध्ये गनिन्छन्। हितेन्द्र प्रसारण लाइनका जानकार पनि मानिन्छन्।
पुर्ख्यौली घर पूर्वी इलाम बजार भएका हितेन्द्रले सन् १९८८ मा भारतको एनआइटीबाट स्नातक, नर्वेबाट डिप्लोमा र नेपालबाट इन्जिनियरिङमा स्नातकोत्तर गरेका हुन्। हाल उनी काठमाडौं विश्वविद्यालयमा 'इलेक्ट्रिसिटी मार्केट डिजाइन' विषयमा पिएचडी अनुसन्धानरत छन्।
उनले ३६ वर्षअघि इन्जिनियरका रूपमा प्राधिकरणमा सेवा सुरू गरेका थिए। प्राधिकरण अन्तर्गत पावर ट्रेड, सिस्टम प्लानिङ एन्ड प्लान्ट अपरेसन लगायत विभिन्न विभागको निर्देशकका रूपमा काम गरेका छन्।
उनले सन् २०१५ को राष्ट्रिय प्रसारण प्रणाली मास्टरप्लान, २०१६ को नेपाल–भारत सीमापार प्रसारण प्रणाली मास्टरप्लान र २०१७ को सस्टेनएबल डिस्ट्रिब्युटेड जेनेरेसन एन्ड ग्रिड एक्सेस फर अल योजनामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
त्यस्तै, सन् २०१७ देखि २०२० सम्म उनी एनइए इन्जिनियरिङ कम्पनीका संस्थापक प्रबन्ध निर्देशक थिए। यसबाट ठूला जलविद्युत आयोजना र ठूला प्रसारण लाइनको डिजाइन तथा परामर्श सेवाको क्षेत्रमा काम गरेका थिए।
प्राधिकरणको सेवामा कुलमानभन्दा केही वर्षअघि नै हितेन्द्रको प्रवेश भएको थियो। हितेन्द्रले २०४५ सालमा सातौं तह इन्जिनियर पदमा अस्थायी सेवाबाट प्राधिकरण प्रवेश गरेका थिए। २०४६ सालमा त्यही पदमा स्थायी भएर सेवा सुरू गरे। पदमा रहँदासम्म इमानदार भएर काम गरे। विवादमा पनि तानिएनन्।