नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुने बताएका छन्।
अहिलेसम्म दलका सरकारले गरेका नियुक्ति राजनीतिक भएको र अब पनि राजनीतिक नै हुने उनले बताए।
बालेन शाह नेतृत्वको रास्वपा सरकारको सिफारिसमा राष्ट्रपतिले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेका छन्। जसले १ हजार ५ सय ९४ जना पदाधिकारी पदमुक्त भएका थिए।
कांग्रेस प्रवक्ता चालिसेले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम नगर्न आग्रह गरेका छन्।
‘पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयाँलाई सुधारको नाम दिने क्षणिक राजनीति नगरौं,’ उनले भने।
यस्तो प्रवक्ता चालिसेको भनाइ-
दलको सरकारले गर्ने सबै नियुक्ति राजनीतिक हुन्छन्। अब हुने नियुक्ति पनि राजनीतिक नै हुन्। यसमा सरकार र सरकार सम्बद्ध पार्टीको केही प्रभाव र अनुकूलता हुन्छ नै। कार्यपालिकाले आफ्नो नीति कार्यान्वयन गर्न अनुकूल व्यक्ति खोज्नु अस्वाभाविक भन्न मिल्दैन। त्यसैले पुराना नियुक्तिलाई दलीय भनेर बदनाम गर्ने र नयाँलाई सुधारको नाम दिने क्षणिक राजनीति नगरौं।
बरू सिधै भने हुन्छ सरकारले अहिले स्थापित गर्न खोजेको पद्धती To the victor belongs the spoils को नयाँ संस्करण हो। यही काम भोलि आउने हरेक सरकारले गर्यो भने असहमति राख्ने नैतिक आधार कसैको हुँदैन। अब यसले कानूनको रूप लिदैछ, हरेक नयाँ सरकारलाई यो सुविधा प्राप्त हुनेछ।
रास्वपाभित्र पनि पूर्व कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतका कैयन नेता र कार्यकर्ता छन्। अरू दलका पालामा भएका नियुक्तिलाई दलीय आरोपमा सामूहिक रूपमा अस्वीकार गरिन्छ भने आफ्नो पार्टी भित्रका दलीयहरूको भविश्य के हुने हो?
सरकारले ल्याएको नीतिको समर्थन गर्न पाइन्छ। यसको अर्थ अरूलाई निन्दा, अरू जति सबै अयोग्य? यहाँ निर्दलीय कोही छैन, रास्वपा पनि दल नै हो। मत दिनु र कार्यकर्ता हुनु फरक कुरा हो।
व्यक्ति एक, नाता अनेक हुन्छ। कसैको छोरा अर्काको ज्वाइँ हुन सक्छ, त्यही व्यक्ति कसैको भान्जा हुन सक्छ। सबै ठाउँमा उसले आफ्नो भूमिका निभाएकै हुन्छ। समाजमा विचार र सोच नभएको मान्छे हुँदै हुँदैन। कसैले आस्था र विचार राखेकै आधारमा योग्यलाई पनि अयोग्य घोषणा गर्ने र यो स्तरमा घृणा र निन्दा गर्ने संस्कृतिले यो समाजलाई कहाँ पुर्याउँछ? सत्य जहाँ भए पनि सत्य नै हुन्छ, आज होस् वा भोलि, यता होस् वा उता।