सरकारले नियुक्ति खारेज भएका ठाउँमा काम नरोक्न सम्बन्धित मन्त्रालयका सहसचिव वा सोही संस्थाका वरिष्ठ कर्मचारीलाई निमित्त वा कामु प्रमुखको जिम्मेवारी दिने भएको छ।
प्रधानमन्त्री बालेन शाहका प्रेस विज्ञ दीपा दाहालले उक्त जानकारी दिएकी हुन्।
अब सम्बन्धित ऐनअनुसार नै नयाँ नियुक्तिहरू खुला प्रतिस्पर्धा र योग्यताका आधारमा गर्ने गरी योजना बनिरहेको उनले बताइन्।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले अध्यादेश ल्याएर यसअघि राजनीतिक नियुक्ति लिएका १५९४ जनालाई पदमुक्त गरेको हो।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले 'सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३' जारी गरेसँगै विभिन्न बोर्ड, समिति र संस्थानहरूमा राजनीतिक नियुक्ति पाएका १,५९४ जना पदाधिकारी एकमुष्ट पदमुक्त भएको दाहालले बताइन्।
कतिपय निकायको पदाधिकारीका हकमा केही प्राविधिक कारण वा पद रिक्तताले गर्दा सूचीमा नाम नदेखिएको दाहालको भनाइ छ।
'चाँडै राजपत्रमा प्रकाशित भइसकेपछि सम्बन्धित व्यक्तिलाई पदमुक्त भएकोबारे औपचारिक रूपमा पत्र पठाइने छ,' उनले भनिन्।