अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद छलेर झण्डै नौ अर्ब डलरको हतियार मध्यपूर्वका राष्ट्रहरूलाई बेच्न लागेका छन्।
संसदले समीक्षा गरेपछि मात्रै अमेरिकाले हतियार बेच्ने गर्छ। तर विदेश मन्त्री मार्को रुबियोले आपत्कालीन परिस्थिति रहेको भन्दै संसदीय समीक्षा छलेर आठ अर्ब ६० करोड डलरको हतियार बेच्न प्रक्रिया द्रुत गतिमा अघि बढाउन खोजेको फाइनान्सियल टाइम्सले लेखेको छ।
इरानद्वारा हुनसक्ने संभावित आक्रमणबाट जोगाउन कतार, इसराइल, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत लगायत राष्ट्रलाई अमेरिकाले ती हतियार बेच्न लागेको हो। त्यस मध्ये चार अर्ब डलर भन्दा बढीको 'प्याट्रियट इन्टरसेप्टर' मिसाइल र 'एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम' कतारलाई बेच्न लागेको हो।
इसराइल र युएईलाई समेत बेच्न लागेको 'एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम'ले सामान्य रकेटहरूलाई सटिक निसाना लगाउने हतियारमा परिणत गर्दछ। यस्तै, कुवेतले दुई अर्ब ५० करोड डलरको हवाई तथा मिसाइल रक्षाका लागि 'इन्टिग्रेटेड ब्याटल कमाण्ड सिस्टम' खरिद गर्ने भएको छ।
इरानसँगको युद्धमा धेरै हतियार प्रयोग भएकाले अमेरिकाले बेलायत, पोल्याण्ड, लिथुआनिया र इस्टोनिया लगायतका युरोपेली राष्ट्रलाई हतियार आपूर्तिमा ढिलाइ हुन सक्ने भर्खरै जानकारी दिएको थियो। तर युरोपेली राष्ट्रलाई पहिले नै बेच्ने निर्णय गरेको हतियार रोकेर मध्यपूर्वमा भने संसदलाई छलेर द्रुत गतिमा बेच्न लागेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)