लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुकुम्बासी समस्या समाधान गर्ने नाममा नागरिकलाई घरबार बिहीन बनाउने काम भइरहेको बताएका छन्।
प्रगतिशील लेखक संघ रूपन्देहीले आइतबार बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित 'अठोट' नामक पुस्तकको लोकार्पण कार्यक्रममा मुख्यमन्त्री आचार्यले त्यस्तो बताएका हुन्।
उनले भूमिहीन र सुकुम्बासीको समस्या समाधान नागरिकलाई विस्थापित गरेर सम्भव नहुने बताए।
'पहाडबाट झरेर यहाँ बसोबास गरेका, मेहनत गरेर घडेरी जोहो गरेका र विदेश गएर घर बनाएका मानिसहरू अव्यवस्थित बसोवासी हुन्। उनीहरूलाई सुकुम्बासीको नाम दिएर जबरजस्ती घरमाथि डोजर चलाउने काम भइरहेको छ। अब यस्ता नागरिकको अवस्था के हुने भन्ने गम्भीर प्रश्न खडा भएको छ,' उनले भने।
मुख्यमन्त्री आचार्यले अव्यवस्थित बसोबासलाई आधार बनाएर नागरिकलाई अलपत्र पार्ने काम राज्यको जिम्मेवारी नभएको बताए।
'रूपन्देहीको अवस्था के हुन्छ? नागरिकलाई अलपत्र पार्ने, बिल्लिबाठ बनाउने काम राज्यले गर्न मिल्छ,' उनले प्रश्न गरे।
त्यस्तै, अव्यवस्थित बसोबासीलाई पुराना राजनीतिक दलका कार्यकर्तासँग जोडेर गलत व्याख्या गर्न खोजिएको भन्दै त्यस विषयमा बुद्धिजीवीहरूले आवाज उठाउनुपर्ने उनले बताए।