भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा गत महिना सम्पन्न विधानसभा निर्वाचनको मतगणना आज (सोमबार) हुँदैछ।
असम, केरल, पुडुचेरी, तामिलनाडू र पश्चिम बंगालको विधान सभा निर्वाचनको परिणाम सोमबार आउँदै छ। मतगणना बिहान ८ बजेबाट सुरू हुने भनिएको छ।
असम, केरल, पुडुचेरीमा अप्रिल ९ मा एकै चरणमा मतदान भएको थियो। तामिलनाडूमा अप्रिल २३ मा मतदान सम्पन्न भएको थियो।
पश्चिम बंगालमा भने दुई चरणमा अप्रिल २३ र २९ मा मतदान गरिएको थियो।
यसपटक सबैभन्दा बढी चासो पश्चिम बंगालतर्फ केन्द्रित छ।
विभिन्न एग्जिट पोलहरूले सत्तारुढ त्रिणमूल कंग्रेस (टिएमसी) र भारतीय जनता पार्टी (भाजपा)बीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।
पश्चिम बंगालको २९४ सिट रहेको विधानसभा मध्ये २९३ सिटको मतपरिणाम आज सार्वजनिक हुने छ भने फाल्टा सिटमा पुनः मतदान गर्ने निर्णयका कारण त्यसको नतिजा पछि आउनेछ।
पश्चिम बंगालमा बहुमतका लागि १४८ सिट आवश्यक पर्छ।
ममता बनर्जीको टिएमसी पछिल्ला १५ वर्षदेखि सत्तामा रहेको छ। भने भाजपा यसपटक सत्ता परिवर्तनको आशामा छ।
यद्यपि विभिन्न एक्जिट पोलहरूले फरक–फरक अनुमान प्रस्तुत गरे पनि अधिकांशले कडा प्रतिस्पर्धा हुने देखाएका छन्।
उता असममा १२६ सिटमध्ये बहुमतका लागि ६४ सिट आवश्यक छ।
मुख्यमन्त्री हेमन्त विश्व शर्माले भाजपा लगातार तेस्रो पटक जित्ने दाबी गरेका छन् भने विपक्षी दलले सत्ता फिर्ताको दाबी गरेको छ। अधिकांश एक्जिट पोलहरूले भने भाजपा गठबन्धनलाई अगाडि देखाएका छन्।
१४० सिट रहेको केरलमा लामो समयदेखि वामपन्थी गठबन्धन सत्ता छ। यसपालि युनाइटेड डेमोक्र्याटिक फ्रन्ट (युडिएफ) र लेफ्ट डेमोक्र्याटिक फ्रन्ट (एलडिएफ) बीच प्रतिस्पर्धा देखिएको छ।
अधिकांश एक्जिट पोलहरूले यूडीएफलाई अग्रता दिएका छन्।
२३४ सिट भएको तामिलनाडूमा डिएमके गठबन्धन अग्रस्थानमा रहने अनुमान छ। यसपालि तामिल अभिनेता विजयको नेतृत्वमा नयाँ शक्ति पनि मैदानमा रहेकाले प्रतिस्पर्धा रोचक बन्ने अनुमान छ।
त्यसैगरी पुडुचेरी (३० सिट) मा बहुमतका लागि १६ सिट आवश्यक पर्छ। यहाँ अधिकांश एग्जिट पोलहरूले भाजपा नेतृत्वको गठबन्धनलाई पुनः सत्ता प्राप्त हुने संकेत गरेका छन्।