राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण भएकालाई मात्र आगामी स्थानीय तह निर्वाचनको उम्मेदवार बनाउने भएको छ।
रास्वपाले स्थानीय तह उम्मेदवारका लागि उम्मेदवार छनोटको मस्यौदा तयार पारेको छ। पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा क्यान्डिडेट क्लबमा सहभागी हुने मापदण्ड र योग्यता निर्धारण गरेको हो।
क्यान्डिडेट क्लबमा सहभागी हुन संवैधानिक तथा कानुनी योग्यता नै निर्धारित छ। यस अनुसार २१ वर्ष उमेर पूरा पुगेको, उम्मेदवार हुन चाहेको सम्बन्धित स्थानीय तहमै मतदाता नामावलीमा नाम भएको हुनुपर्नेछ। त्यसबाहेक पार्टीले पनि विधानबाट आवश्यक योग्यता तोकेको छ।
पार्टीले तोकेको योग्यतामा वैचारिक प्रतिबद्धता हुनुपर्ने उल्लेख छ। यसअन्तर्गत सुशासन, पारदर्शिता र नागरिक उत्तरदायित्वको मूल मर्म आत्मसात् गर्दै पार्टीको विधान, प्रस्तावना र पार्टीका मूल्य–मान्यता प्रस्ट्याउने अन्य आधिकारिक दस्तावेजहरूप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ।
रास्वपाबाट उम्मेदवार बन्नुपूर्व अन्य कुनै पनि राजनीति दलको सदस्य नरहेको वा त्यस्तो सदस्यता विधिवत् रूपमा त्याग गरिसकेको हुनुपर्नेछ।
त्यस्तै, तथ्यगत र समयबद्ध परिणामप्रति संकल्प भएको हुनुपर्ने छ। यसअन्तर्गत वस्तुगत कार्यसम्पादन मूल्यांकन प्रणालीमा सामेल हुन तयार रहँदै, उम्मेदवार छनोट प्रक्रियामा पूर्ण रूपमा सहभागी हुन मञ्जुर रहेको हुनुपर्नेछ।
पार्टी विधानमा दस्तावेज प्रस्तुत गर्न मञ्जुर रहेको हुनुपर्ने पनि व्यवस्था उल्लेख छ। पार्टीको विधान र कार्यविधिले माग गरेबमोजिम अनिवार्य कागजातहरू, जस्तै; अद्यावधिक सम्पत्ति विवरण, प्रहरी चारित्रिक प्रमाणपत्र आदि मागिएका बखत विधिवत् रूपमा प्रस्तुत गर्न मञ्जुर रहेको हुनुपर्ने मापदण्ड तोकिएको छ।
उम्मेदवार छनोटको रूपरेखामा थप प्रणालीगत योग्यता तथा अनिवार्य स्वघोषणा पनि समावेश छ।
यस अनुसार शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्नुपर्नेछ। आफूले आवेदनमा पेस गरेका सम्पूर्ण शैक्षिक विवरण प्रमाण पूर्णतः सक्कली रहेको र पार्टीको संयन्त्र वा सम्बन्धित निकायले जुनसुकै बेला प्रमाणीकरण गर्दा सही ठहरिने स्वघोषणा गर्नुपर्ने मस्यौदामा उल्लेख छ।
वैवाहिक अवस्थाको कानुनी स्पष्टता पनि तोकिएको छ। यसमा आफ्नो पारिवारिक र वैवाहिक अवस्था कानुनी रूपमा पूर्णतः वैध र स्पष्ट रहेको तथा यससम्बन्धी कुनै पनि प्रकारको लुकाइएको वा विवादित अवस्था नरहेको स्वघोषणा गर्नुपर्ने छ।
दुर्व्यवहार तथा डिजिटल अपराधमा संलग्न उम्मेदवार हुन पाउने छैन। यसमा कानुनी रूपमा प्रमाणित नभएको अवस्थामा पनि कुनै प्रकारको घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार वा सार्वजनिक स्थलमा अमर्यादित व्यवहारमा संलग्न नरहेको, साथै सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर बुलिङ, चरित्र हत्या, अनलाइन ठगी वा अन्य कुनै पनि प्रकारको डिजिटल दुव्र्यवहारमा आफ्नो संलग्नता नरहेको स्पष्ट स्वघोषणा गर्नुपर्नेछ।
वित्तीय तथा आर्थिक शुद्धताको मापदण्ड पनि तोकिएको छ। यस अनुसार समाजमा मिटरब्याज, सट्टेबाजी, हप्ताअसुली, ढुकुटी, हुन्डी वा सहकारी संस्थाको बचत अपचलनजस्ता कुनै पनि प्रकारका अनौपचारिक तथा अवैध आर्थिक कारोबारमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्नेछ।
स्वार्थ बाझिने अवस्था हुन नहुने पनि छ। यसमा आफूले उम्मेदवारी दिन चाहेको पालिका वा वडाअन्तर्गत सञ्चालित कुनै पनि विकास निर्माण, ठेक्कापट्टा, खरिद प्रक्रिया, उपभोक्ता समिति वा सार्वजनिक आपूर्तिमा आफ्नो वा एकाघरको परिवारको स्वामित्वमा रहेको व्यावसायिक फर्मको प्रत्यक्ष संलग्नता अर्थात् स्वार्थ बाझिने अवस्था विद्यमान भए वा नभएको यथार्थ विवरण खुलाएको स्वघोषणा गर्नुपर्नेछ।
विचाराधीन मुद्दा तथा कानुनी विवादको स्पष्टता हुनुपर्नेछ। यस अनुसार अदालत, अख्तियार दुरूपयोग अनुसन्धान आयोग अन्य कुनै पनि न्यायिक/अर्धन्यायिक निकायमा आफ्नोविरूद्ध कुनै पनि प्रकारको फौजदारी, भ्रष्टाचार, ठगी वा गम्भीर प्रकृतिको देवानी मुद्दा विचाराधीन अवस्थामा रहे/नरहेको स्पष्ट विवरण खुलाएको हुनुपर्ने मस्यौदामा उल्लेख छ।