प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिको बैठक स्थगित भएको छ।
समिति सभापति हरि ढकालले मन्त्रीहरूको कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको सेतोपाटीलाई जानकारी दिए।
समितिको बैठक बिहान ११ बजेका लागि डाकिएको थियो।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता एवं समितिका सदस्य हर्क साम्पाङले बैठक स्थगित गरिएको विषयमा सामाजिक सञ्जाल फेसबुकबाट प्रश्न उठाएका छन्।
'राज्यव्यवस्था तथा सुशासन समितिको वैठक स्थगित ! सरकार गम्भीर छैन', साम्पाङले लेखेका छन्, 'न समितिहरुको वैठक बोलाउँछ! न संसद खुलाउँछ।'
राज्य व्यवस्था एवं सुशासन समितिका सभापति ढकालले मन्त्रीको उपस्थिति सुनिश्चित नभएकाले बैठक स्थगित भएको बताए। उनले शनिबार नै बैठक स्थगित गरिएको र सांसदहरुलाई समयमै जानकारी गराइएको सेतोपाटीलाई बताए।
'आज परिचयात्मक कार्यक्रम र समितिको कार्यक्षेत्रबारे जानकारी गराउने तयारी थियो', ढकालले भने, 'सम्बन्धित मन्त्रालयका मन्त्रीहरूको कार्यव्यवस्तताका कारण उपस्थित हुन सक्ने अवस्था भएन।'
राज्य व्यवस्था एवं सुशासन समितिको कार्यक्षेत्रमा चार वटा मन्त्रालय छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पर्दछ।
यीमध्ये तीन वटा मन्त्रालयको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाह आफैँले गर्दै आएका छन्। गृह मन्त्री सुधन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री शाह आफैँले सो मन्त्रालय सम्हाल्दै आएका छन्। त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलले पनि कार्यव्यस्ता देखाएको ढकालले बताए।
यसअघी अर्थ समितिको बैठकमा पनि सम्बन्धित मन्त्री उपस्थित नभएको उल्लेख गर्दै सांसदहरूले आपत्ती जनाएका थिए। संसदीय समितिको बैठकमा सांसदहरुले मन्त्रीको उपस्थिति खोज्ने गरेका छन्। संसदमा विधेयक छलफल र मन्त्रालयगत छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य भएपनि अन्य कार्यमा भने मन्त्रीको छलफल अनिवार्य गर्ने गरिएको छैन।