भारतका पाँच राज्यमा हालै भएको विधानसभा निर्वाचनमा मुख्यतः पश्चिम बंगाल र तमिलनाडुको परिणामले सबैको ध्यान खिचेको छ।
केरलामा कंग्रेस सहितको गठबन्धनले बहुमत हासिल गर्ने देखिन्छ भने आसाममा भारतीय जनता पार्टीले (भाजपा) फेरि पनि सरकार बनाउने भएको छ।
त्यस्तै पुडुचरीमा पनि भाजपा गठबन्धनले सरकार बनाउने भएको छ। तर ती सबै राज्यभन्दा ठूला पश्चिम बंगाल र तमिलनाडुको परिणामले सबैलाई अचम्ममा पारेको छ।
यो समाचार तयार पार्दासम्म अन्तिम परिणाम घोषणा भएको छैन। तर दुई वर्षअघि चर्चित तमिल सुपरस्टार विजय थालापतिले खोलेको तमिझगा वेत्री कजगम (टिभिके) सबभन्दा ठूलो दल हुने भएको छ।
अर्कोतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपाले बंगालमा पहिलो पटक सरकार बनाउने पक्का देखिन्छ।
पछिल्ला वर्षमा राज्य स्तरमा मात्रै नभएर केन्द्रीय स्तरमा समेत सरकार विरोधी छवि बनाएका विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने देखिन्छ। तर अघिल्लो डिएमके सरकार पनि भाजपा विरोधी खेमाकै भएकाले विजयको उदयले भाजपालाई खासै घाटा भएको देखिँदैन।
त्यसैले उत्तर प्रदेश र महाराष्ट्रपछि सबभन्दा बढी लोकसभा सिट भएको बंगालमा हासिल भएको ऐतिहासिक सफलताले भाजपा पुलकित भएको छ।
यो लेखमा हामी पूर्वी नेपालसँग सीमा जोडिएको बंगालको नतिजाबारे चर्चा गर्नेछौं।
सन् २०११ पछि लगातार तीन कार्यकाल बंगालकी मुख्यमन्त्री रहेकी ममता बनर्जीको तृणमुल कंग्रेस पराजित भएको छ। सन् १९७७ देखि लगातार सत्तामा रहेको कम्युनिस्ट पार्टीलाई सत्ताच्युत गरेकी ममता त्यस यता राष्ट्रिय राजनीतिमा छाएकी थिइन्।
उनी मुख्यमन्त्री बनेको तीन वर्षपछि प्रधानमन्त्री बनेका मोदीको सबभन्दा चर्को आलोचकमध्ये रहँदै आएकी थिइन्।
भारतको स्वतन्त्रता संग्रामको नेतृत्व गरेको कंग्रेसबाट ममताले राजनीति सुरू गरेको थिइन्। तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएका बेला समाजवादी नेता जय प्रकाश नारायणको कारमा चढेर नाच्दै विरोध गरेपछि पहिलो पटक उनी चर्चामा आएकी थिइन्।
बंगालमा कम्युनिस्ट सरकारको आक्रामक रूपमा विरोध गर्ने ममता सन् १९९० को दशकमा राष्ट्रिय राजनीतिमा वामपन्थी दलहरूसँग कंग्रेस नजिकिन थालेपछि रूष्ट हुन थालेकी थिइन्।
तत्कालीन कंग्रेस प्रदेश प्रमुख सोमेन्द्र नाथ मित्रासँग मतभेद चर्किएपछि अर्का कंग्रेस नेता मुकुल रोयसँग मिलेर १९९७ मा उनले तृणमुल (भुइँ तह) कंग्रेसको स्थापना गरेकी थिइन्।
अर्को वर्ष भएको लोकसभा निर्वाचनमा तृणमुलबाट सांसद निर्वाचित भएकी ममता उनको दबंग शैलीका कारण त्यसै वर्ष राष्ट्रिय रूपमा चर्चामा आएकी थिइन्।
भाजपाका अटल बिहारी वाजपेयीले नेतृत्व गरेको तत्कालीन केन्द्रीय सरकारले ल्याएको महिला आरक्षण विधेयकको समाजवादी पार्टीले विरोध गरेको थियो भने तृणमुलले समर्थन।
समाजवादी सांसद दरोगा प्रसाद सरोजले सरकारलाई विधेयक पेस गर्न रोक्न खोजेपछि ममताले उनको कठालो समातेर संसदको 'वेल' बाट बाहिर निकालेकी थिइन्।
आक्रामक स्वभावकी ममता त्यसपछि बंगालको कम्युनिस्ट सरकारको प्रमुख प्रतिपक्षी बनिन्। अनि सन् २०११ मा ३४ वर्षदेखिको लालकिल्ला तोड्दै मुख्यमन्त्री बनिन्।
मोदी प्रधानमन्त्री भएपछि भाजपाले देशैभरी प्रभाव विस्तार गर्यो। तर पनि परम्परागत रूपमा प्रगतिशील विचारधारा राख्ने र २५ प्रतिशत भन्दा बढी मुसलमान रहेको राज्यमा भाजपाको अहिलेसम्म केही चलेको थिएन।
तर मोदी र उनका गृहमन्त्री अमित शाहको टोलीले १५ वर्षपछि अन्ततः ममतालाई पनि सत्ताच्युत गरेको छ।
अब भाजपाले किन बंगालमा विजय हासिल गर्यो भन्नेबारे चर्चा गरौं।
तृणमुल सहित विपक्षी दलहरूले झण्डै ९० लाख (करिब १२ प्रतिशत) मतदाताको नाम यस पटक नामावलीबाट हटाएर भाजपाले विजयको जग राखेको आरोप लगाउँदै आएका छन्।
निर्वाचन आयोगले नक्कली, मरिसकेका र बसाइ सरेका मतदाताको नाम मात्रै हटाइएको दाबी गरे पनि मोदीको शासनमा राज्यको सबै अङ्गमा कब्जा जमाएको भाजपाले विरोधीलाई घाटा हुने गरी मतदाता नामावली संशोधन गरेको आरोप लागेको छ।
भाजपाले बंगालका मुसलमानलाई छिमेकी बंगलादेशबाट भागेर आएका घुसपैठी भनेर आरोप लगाउँदै आएको छ। राज्यमा २७ प्रतिशत मात्रै मुसलमान रहे पनि नाम कटाइएका मतदातामा ३४ प्रतिशत मुसलमान रहेको विपक्षीले औंल्याउँदै आएका छन्।
हिन्दु अतिवादी भाजपामा भोट नहाल्ने मुसलमान र तृणमुललाई भोट हाल्ने गरिब र अरू अल्पसंख्यक मतदाताको नाम काटइएको भनेर विपक्षीले आरोप लगाएका छन्।
भाजपाले चुनावमा सारा राज्य संयन्त्र प्रयोग गरेको र मतगणनामा समेत धाँधली गरेको आरोप लगाएर ममताले मतगणना हुँदै गर्दा विरोध गरेकी छिन्।
तर पनि मतदाता नामावली संशोधन र धाँधली गरेर मात्रै भाजपाले जितेको भन्न मिल्दैन।
लगातार १५ वर्ष शासन चलाएकी ममताले हार्नुको एउटा प्रमुख कारण 'एन्टी इन्कम्बेन्सी' हुन सक्छ। लोकतन्त्रमा जनताले सरकारको कामबाट विरलै सन्तुष्ट हुन्छन्। त्यसैले संसारभर सत्तामा रहेका राजनीतिक दललाई धाँधली नगरी चुनाव जित्न मुस्किल हुन्छ।
लगातार तीन कार्यकाल चलाएकी ममतासँगको असन्तुष्टि चुलिएर पनि तृणमुलले पराजय भोगेको देखिन्छ। त्यसमाथि ममताको दम्भी स्वभावले आगोमा घिउ थप्ने काम गरेको छ।
तृणमुलको पराजयको अर्को प्रमुख कारण आर्थिक देखिन्छ। साढे तीन दशकको कम्युनिस्ट शासनका बेला मजदुर हड्ताल र व्यवसायी विरोधी नीतिका कारण बंगालको आर्थिक विकासमा पछि परेको थियो।
ममता सत्तामा आएपछि स्थितिमा केही सुधार आए पनि बंगालको आर्थिक वृद्धि दर राष्ट्रिय दर भन्दा कम रहँदै आएको थियो। त्यस्तै राष्ट्रिय गार्हस्थ्य उत्पादनमा (जिडिपी) बंगालको हिस्सा पनि लगातार घटिरहेको छ।
गरिब, महिला र अल्पसंख्यकको कल्याणका लागि ममताले पैसा बाँडेर केही हदसम्म त्यसको भरपाइ गर्दै आएकी थिइन्। तर भाजपाले पनि आफ्नो सरकार भएको अरू राज्यमा मतदातालाई खुसी पार्न पैसा बाँडेकाले तृणमुलले हारे पनि खासै परक नपर्ने उनीहरूले सोचेका हुन सक्छन्।
गुजरातमा मुख्यमन्त्री हुँदा उच्च आर्थिक वृद्धि गरेर उदाएका मोदी प्रधानमन्त्री बनेपछि समग्र भारतकै विकास दर राम्रो रहेकाले बंगालमा पनि भाजपाले जीत हासिल गरेको देखिन्छ।
हिन्दु कट्टरपन्थी नीतिले पनि भाजपालाई फाइदा पुगेको देखिन्छ। हिन्दु अतिवादी नीति अँगालेर हिन्दुको बहुमत भएको देशमा शासन गरिरहेको भाजपाको सो नीतिले बंगालमा पनि काम गरेको छ।
अतिवादी नीतिका कारण मुसलमान लगायत अल्पसंख्यक चिढिए पनि बहुमत हिन्दुले भोट हाले चुनाव जितिन्छ भन्ने भाजपाले बुझेको छ। बंगालमा एक चौथाइ जनसंख्या मुसलमान भए पनि ७० प्रतिशत हिन्दु भएकाले हिन्दुकै मतका कारण भाजपाले विजय हासिल गरेको छ।
१५ वर्षअघि ममता पहिलो पटक मुख्यमन्त्री बनेका बेला भाजपाले बंगालको विधान सभामा कुनै पनि सिट जितेको थिएन।
मोदी प्रधानमन्त्री बनेको दुई वर्षपछि भएको विधान सभा चुनावमा भाजपाले तीन सिट जितेको थियो।
सन् २०२१ मा बंगालमा जित्न मोदी र शाहले ठूलो मेहनत गरेका थिए। त्यत्रो मेहनत गरे पनि भाजपाले तृणमुललाई हराउन भने सकेन। तर पनि भाजपाले ७७ सिट जितेको थियो।
प्रतिस्पर्धालाई दुई पक्षीय बनाएर ३८ प्रतिशत मत जितेको थियो। यस पटक भने भाजपाले बंगालमा विजयको झन्डा फहराएको छ।
बंगालमा भाजपाको विजय राष्ट्रिय रूपमा पनि महत्वपूर्ण छ। सन् २०२४ को लोकसभा निर्वाचनमा भाजपाले अनपेक्षित रूपमा कमजोर प्रदर्शन गरेको थियो।
एक्लै दुई–तिहाइ सिट जित्ने नारा सहित निर्वाचन लडेको भाजपाले सामान्य बहुमत समेत हासिल गर्न सकेको थिएन। तर त्यसपछि भाजपाले विभिन्न राज्यमा विधान सभा निर्वाचन जित्दै आएको छ।
उत्तर प्रदेशपछि सबभन्दा धेरै लोकसभा सिट भएको महाराष्ट्रमा त्यसै वर्ष भएको चुनाव भाजपाले जितेको थियो। साथै हरियाणामा पनि कंग्रेसले जित्ने अपेक्षा गरिएकामा भाजपाले लगातार तेस्रो पटक चुनाव जितेको थियो।
गत वर्ष चौथो ठूलो राज्य बिहारमा पनि भाजपाले नितिश कुमारको जनता दल (युनाइटेड) सँग गठबन्धन गरेर जित्यो। नितिशको जनता दल (युनाइटेड) भन्दा बढी सिट जितेर भाजपा सबभन्दा ठूलो दल बन्यो।
भाजपाले नितिशलाई मुख्यमन्त्री बनाउने भनेर निर्वाचन लडेकाले उनलाई नै मुख्यमन्त्री बनायो। तर बिहारको मुख्यमन्त्रीका १० औं पटक शपथ लिएको चार महिना पनि नबित्दै राजीनामा दिएर नितिशले राज्य सभाका लागि उम्मेदवारी दिए।
अहिले बिहारमा भाजपाकै सम्राट चौधरी मुख्यमन्त्री छन्।
यस पटक बंगालमा पनि चुनाव जितेपछि २०२९ मा हुने लोक सभा निर्वाचनमा भाजपाले फेरि बहुमत ल्याउने संभावना बढेको छ। भारतमा सबैभन्दा ठूला उत्तर प्रदेश, महाराष्ट्र, पश्चिम बंगाल र बिहार चार वटै राज्य सहित मध्य प्रदेश, गुजरात, हरियाणा, राजस्थान, उडिसा, आसाम लगायत मध्यम आकारका राज्यमा राम्रो प्रदर्शन गरेर भाजपाले बहुमत ल्याउन सक्नेछ।
दक्षिणका राज्यहरूमा खराब प्रदर्शन गरे पनि भाजपाले लगातार चौथो पटक भारतमा सरकार बनाउन सक्नेछ।
***