एक झर पानी पर्नेबित्तिकै रोशी खोलाको भेलबाढीले बिपी राजमार्ग अवरूद्ध बनाउँछ। तर यात्रु तथा सवारी चालक संवेदनशील बन्ने गरेका छैनन्।
सोमबार राति पाँच वटा सवारी चालक संवेदनशील नबन्दा ८९ यात्रु जोखिममा परेका थिए।
काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनसार रोशीको उपल्लो जलाधार क्षेत्रमा पानी परेको सूचना आउनासाथ सोमबार राति काभ्रेको मंगलटारमै सवारी साधन रोकिएको थियो। तर पाँच सवारी साधनले अटेर गरे।
पनौती, बेथानचोक क्षेत्रमा दर्किएको झरी बेवास्ता गर्दै उनीहरू धुलिखेलतर्फ अघि बढेका थिए। चारसयबेसी आइपुग्दा नपुग्दै रोशी उर्लिइहाल्यो।
‘त्यहाँ खोलैखोला बाटो बनाइएको छ। भेल बढेको थाहा पाएपछि अगाडि बढ्न नसकेपछि गाडी सिन्धुलीतर्फ नै फर्काएर अघि बढ्न खोजेका रहेछन्। तर खोलाको दुईवटा भँगालाको बीचमा परेछन्,’ उनले भने।
अधिकारीका अनुसार रोशीले पाँच वटा गाडी मात्रै अट्ने टापुजस्तो बनाएको भागमा ती सवारी रोकिएका थिए। भँगालो जोडिएको ठाउँ छिचोल्न सक्ने सम्भावना नदेखिएपछि पाँचैवटा गाडी त्यहीँ रोकिएका थिए।
‘संयोगवश महाभारत लेक, पनौती तथा बेथानचोक आसपास पानी पर्न रोकियो र खोला घट्यो। नत्र हामीले उद्धार होइन अर्कै दृश्य देख्नुपर्थ्यो,’ उनले भने।
रातिको समय भएकाले उद्धारमा निकै कठिनाइ झेलेको उनले बताए। उनका अनुसार ८९ यात्रुको उद्धार गर्न रातको साढे एक बजेसम्म लागेको थियो।
‘यात्रु निकै भयभीत हुनुहुन्थ्यो। वारिबाट हामीले माइकिङ गर्दै नआत्तिनुस्, उद्धार हुन्छ भनिरह्यौं। डोरी, र्याफ्टिङ लगायत विभिन्न तौरतरिका अपनाएर सकुशल उद्धार गर्यौं,’ उनले भने।
यसरी उद्धार गरिएका यात्रुलाई कोटेश्वरसम्म प्रशासनले नै ल्याएको थियो। कोटेश्वरमा ल्याएर आफन्तको जिम्मा लगाएर पठाएको प्रजिअ अधिकारीले बताए।
त्यसरी गाडी हुइँक्याएर खोलामा ल्याएर फसाउने पाँच चालक अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई मुद्दा चलाउने तयारी भइरहेको छ।
‘हिजो हामीले सावधानीवश नै सवारी रोकेका थियौं। पनौती, त्यसभन्दामाथिको क्षेत्रमा पानी पर्न थालेपछि नै हामीले तल सूचित गर्छौं। माथिल्लो जलाधारमा पानी परेको दुई घण्टामा बाढी बिपी राजमार्ग आसपास पुग्ने रहेछ, त्यही अनुसार सूचना दिँदादिँदै गाडी नरोकी यात्रुको जीउधन जोखिमममा पारेपछि कानुनी कारबाही गर्नैपर्ने हुन्छ,’ उनले भने।
सोमबारको वर्षातपछि बिपी राजमार्ग अहिले पनि अवरूद्ध छ। सोमबार पाँच सवारी साधन जोखिममा परेका थिए। १६० भन्दा बढी सवारी बीच बाटामै रोकिएका थिए। रोकिएका ती सबै सवारी अहिले पास गराइसकिएको प्रजिअ अधिकारीले बताए।
यसरी बिपी राजमार्गमा रातबिरात यात्रु, सवारी साधनको उद्धार गर्नुपरेको पहिलो घटना होइन। गत चैत १४ गते रोशीकै बाढीले बिपी राजमार्गमा कार्यरत कुन्साङ तामाङलाई बगाएर बेपत्ता बनाएको थियो। त्यही दिनको बाढीमा फसेका ७ जनालाई सशस्त्र र नेपाल प्रहरीको टोलीले राति उद्धार गरेको थियो।
२०८१ असोज १० देखि १२ गतेसम्मको भीषण वर्षाले बिपी राजमार्गको २४ किलोमिटर खण्डमा क्षति पुर्याएको थियो। १३ किलोमिटर सडक त खण्डहर नै बनेको थियो।
अहिले चार वटा खण्डमा ठेक्का लगाएर पुनर्निर्माण भइरहेको छ।
२०८१ असोजदेखि नै अस्थायी डाइभर्सन बनाएर सडक सञ्चालन गरिएको भए पनि ५० देखि १०० मिलिमिटर वर्षा हुँदा नै रोशीमा भेलबाढी आउने गरेको छ। अस्थायी डाइभर्सन बगाउने गरेको छ।
सोमबार पनौती नाला आसपास मध्यम नै वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार पछिल्लो २४ घन्टामा नाला केन्द्रमा ३९, खोपासीमा ३२.२ मिलिमिटर वर्षा भएको थियो।
यतिमै ठूलो बाढी आएर उद्धारमा कठिनाइ उत्पन्न भएको प्रजिअ अधिकारीले बताए।
रोशीको माथिल्लो जलाधार क्षेत्रमा खानी तथा क्रसर उद्योग छन्। ती खानीहरूले खोलामा निर्माणजन्य तथा खेर गएका सामग्री थुपारेका छन्।ग्रामीण सडक तथा अघिल्ला बाढीले थुपारेको गेग्रानका कारण पनि सामान्य वर्षात् मै भेलबाढी आउने गरेको प्रजिअ अधिकारीको भनाइ छ।
बिपी राजमार्ग भएर दिनहुँ २० हजार बढी साना-ठूला सवारी ओहोरदोहोर गर्छन्। रोशीको बाढीले अवरोध सिर्जना गर्न थालेपछि प्रशासनले मंगलबारबाट नै राति बिपी राजमार्गमा आवागमन बन्द गर्ने तयारी गरेको छ। ‘हामी केही बेरमा बैठक बस्दैछौं। पानी परेका बेला दिउँसो पनि आवागमन रोक्नु परिहाल्छ, पानी नपरेका बेला पनि केही दिन राति सडक आवागमन बन्द गर्नेबारे छलफलमै छौं,’ उनले सेतोपाटीसँग भने।
सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पनि बिपी राजमार्गमा राति सवारी साधन चल्न नदिने तयारी भइरहेको बताइन्।
‘सिन्धुलीतर्फ बिपी राजमार्गमा समस्या छैन। तर पूर्वबाट यही जिल्ला भएर यात्रु जाने हुँदा हामीले आवश्यक कडाइ गर्नुपर्ने हुन्छ। काभ्रेले आवश्यक सर्कुलेट गर्नासाथ हामीले सूचना जारी गर्छौं,’ उनले भनिन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाईपूर्वक बन्द गर्न भनेको छ।
प्राधिकरणले जोखिम भएका ठाउँमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कडाइपूर्वक कारबाहीको दायरामा ल्याउनसमेत जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।
‘सोमबार साँझ काभ्रे जिल्लास्थित रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रोक्दारोक्दै पाँचवटा सवारी अगाडि बढ्दा यात्रुहरु बाढीमा फस्न पुगेका थिए। त्यसरी फसेका सबै ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ। केही सवारी चालकका कारण यात्रुहरूको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकताअनुसार सवारी आवागमन कडाइपूर्वक बन्द गर्न अनुरोध गरिएको छ,’ केसीले भने।
रोशी खोलाको जस्तो घटना दोहोरिन नदिन प्राधिकरणले विपद् जोखिमको हिसाबले संवेदनशील सडक मार्ग पहिचान गरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरुसँग समयमै समन्वय गर्न पनि भनेको छ।
त्यसैगरी विपद्का बेला सडक अवरूद्ध भई सवारी आवगमन बन्द भएको अवस्थामा अलपत्र परेका र जोखिममा रहेका यात्रुहरूलाई सुरक्षित राख्न योजना तयार पारी सोही अनुसार कार्यान्वयन गर्न, गराउन पनि निर्देशन दिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ।