तमिलनाडूमा थालापति विजयको नेतृत्वमा बन्ने सरकारलाई कंग्रेस आईले समर्थन दिने घोषणा गरेको छ।
कंग्रेस आईका तमिलनाडू प्रमुख गिरिश चोडनकरले बुधबार विज्ञप्ति जारी गर्दै विजय नेतृत्वमा बन्ने टिभिके सरकारलाई समर्थन दिने घोषणा गरेका हुन्।
तर यसका लागि कंग्रेस आईले एउटा सर्त राखेको छ।
'टिभिकेलाई हामी समर्थन गर्छौं। तर भारतको संविधानमा विश्वास नराख्ने साम्प्रदायिक शक्तिहरूलाई यो गठबन्धनबाट टाढा राख्नुपर्छ,' चोडनकरले भनेका छन्।
तमिलनाडूको सरकार बनाउन ११८ सांसदको समर्थन आवश्यक रहन्छ। विजयको टिभिकेले १०८ सिट ल्याएको छ। विजय आफै २ सिटबाट चुनाव जितेका कारण एउटा सिट छाड्नुपर्छ। छाडेको ठाउँमा फेरि चुनाव गर्नुपर्छ।
सरकार गठनपछि सभामुख चयन गरिन्छ, जसले विश्वासको मतमा मतदान गर्दैन। त्यसैले प्रभावकारी संख्या अझ घटेर करिब १०६ मा सीमित हुन्छ। यसले स्पष्ट देखाउँछ, कंग्रेसको समर्थन मात्रै सरकार गठनका लागि पर्याप्त छैन।
सरकार बनाउन उसलाई कम्तिमा थप १० सांसदको समर्थन आवश्यक हुन्छ। तमिलनाडुमा कंग्रेसले ५ सिट मात्रै जितेको छ। उसको समर्थन भयो भने ११३ सांसद मात्र पुग्छ। सरकार बनाउन अन्य दल र स्वतन्त्र सांसदको समर्थन विजयलाई आवश्यक रहन्छ।
टिभिकेले बहुमत नपुगेपछि कंग्रेससँग औपचारिक समर्थन मागेको थियो।
कंग्रेसले पत्रमार्फत विजयले सरकार गठनका लागि समर्थन मागेको पुष्टि गर्दै तमिलनाडुका जनताले 'धर्म निरपेक्ष, प्रगतिशील र कल्याणकारी सरकार' का पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरेको छ।
कंग्रेसले यस्तो जनादेशको सम्मान गर्नु आफ्नो संवैधानिक कर्तव्य भएको पनि जनाएको छ।
अन्य दलहरूको सिट वितरणसमेत कुनै एक दललाई स्पष्ट बहुमत दिने खालको छैन। यसले साना दल तथा स्वतन्त्र सांसदहरूको भूमिका निर्णायक बन्ने देखिएको छ। त्यसैले टिभिकेले थप समर्थन जुटाउनुपर्ने अवस्था छ।
कंग्रेसले टिभिकेसँगको सम्भावित सहकार्य आपसी सम्मान, उचित हिस्सेदारी र साझा जिम्मेवारीमा आधारित हुने जनाएको छ।
पार्टीले यो गठबन्धन वर्तमान सरकार गठनमा मात्र सीमित नरहने, भविष्यमा स्थानीय तह, लोकसभा र राज्यसभा निर्वाचनसम्म पनि विस्तार हुन सक्ने संकेत दिएको छ।
कंग्रेसले ऐतिहासिक सन्दर्भ जोड्दै तमिलनाडूमा पेरूनथलैवर कामराजको स्वर्णिम युग फर्काउने र पेरियारको सामाजिक न्याय तथा डा. भीमराव अम्बेडकरका संवैधानिक मूल्यलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
कंग्रेसको सर्तले टिभिकेमाथि गठबन्धन बनाउँदा सावधानी अपनाउन दबाब सिर्जना गरेको छ, विशेषगरी वैचारिक रूपमा विवादित शक्तिहरूसँग दूरी कायम राख्नुपर्ने सन्देश दिएको छ।
तर सबैभन्दा ठूलो चुनौती भनेको संख्या नै हो। हालको अंकगणित अनुसार टिभिके–कंग्रेस गठबन्धनले मात्रै बहुमत पुर्याउन नसक्ने स्पष्ट छ। त्यसैले सरकार गठनका लागि अन्य दल वा स्वतन्त्र सांसदको समर्थन अपरिहार्य देखिएको छ।
यस परिस्थितिमा विजय नेतृत्वको टिभिकेले थप राजनीतिक समीकरण मिलाउन सके मात्र सरकार गठन सम्भव हुनेछ। अन्यथा तमिलनाडुको सत्ता समीकरण अझै अनिश्चित रहनेछ।