प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बागमती किनाराबाट हटाइएका सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रमको होल्डिङ सेन्टर अनुगमन गरेको छ।
करिब १५ जना सांसद बिहीबार बिहान अनुगमनका लागि पुगेका थिए।
अनुगमनमा गएकी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माका अनुसार कीर्तिपुरको होल्डिङ सेन्टमा ७७ जना पुरूष, ५० जना महिला, ३४ जना बालक र ३१ जना बालिका बसिरहेका छन्।
होल्डिङ सेन्टरका कतिपय सुकुम्बासी आउने र जाने गरेकाले त्यस्तो तथ्यांक समय अनुसार फरक फरक रहेको जानकारी प्रहरीले सांसदहरूलाई दिएका थिए।
होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरू सांसदहरूसँग सुरूमा खुलेर बोलेका थिएनन्।
‘छोटो समयमा खबर गरेर वर्गीकरण पनि नगरी घरहरू विनाश गरियो भन्ने उहाँहरूको भनाइ थियो', शर्माले सेतोपाटीसँग भनिन्, 'उनीहरूको साझा कुरा भनेको छिट्टै राम्रो ठाउँमा बस्ने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने छ।'
होल्डिङ सेन्टरमा मानसिक बिरामी, गर्भवती पनि रहेको उनले बताइन्।
'कतिपयले घरायसी कामदारका रूपमा जीवन निर्वाह गर्दा रहेछन्। उनीहरुलाई सहर छेउबाट हटाइएपछि काम गुमेको चिन्ता थियो', शर्माले भनिन्, 'डेरा खोज्न गयौं तर पाइएन भन्ने गुनासो पनि केहीको थियो।'
सत्संग आश्रमले खानाको राम्रो प्रबन्ध मिलाएको भन्दै सुकुम्बासीहरूले तारिफ गरेका थिए। उनीहरूलाई बिहान सबेरै चिया र त्यसपछि दुई समय खानाको व्यवस्थापन सत्संगले मिलाएको सुकुम्बासीहरूलाई सांसदहरूले बताएका थिए।
'खोला बढेपछि त्यहाँ बगाउँछ भनेर हामीलाई यहाँ ल्याइयो, तर यहाँ पनि पानी पर्दा डुबाउने अवस्था छ भनेर सुकुम्बासीहरूले गुनासो गरेका थिए', शर्माले भनिन्, 'हामी त्यहाँ पुग्दा पनि पानी पर्यो, पानी जमेकाले हामी एकातर्फबाट अर्कोतर्फ जान नसक्ने अवस्था थियो।'
उनले होल्डिङ सेन्टरमा भएका मानिसहरू मानसिक रूपले त्रसित अवस्थामा पाइएको बताइन्।
'मानसिक समस्या बालबालिका, वृद्धावृद्धामा देखियो। अब कता लग्ने हुन् भन्ने उनीहरूको चिन्ता थियो। कतिपय बागमती किनारामै जन्मे हुर्केकाहरू पनि रहेछन्। उनीहरू मानसिक रुपमा कमजोर देखिए,' उनले भनिन्।
उनले होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मीहरू खटिएको जानकारी दिइन्।
'मानसिक समस्या भएका व्यक्तिहरू पनि रहेछन्। औषधिहरू पुरियो भन्ने गुनासो पनि गरे', शर्माले भनिन्, 'वीर अस्पतालका डाक्टरहरूले प्राथमिक उपचारको व्यवस्था गरेका रहेछन्। बिरामी परे एम्बुलेन्स बोलाइदिन्छौं भन्नुभयो। तर त्यहाँ सामान्य औषधिहरू मात्र थिए।'
सांसदहरूसँग अनुगमन क्रममा प्रधानमन्त्री कार्यालयको तर्फबाट प्रगति ढकाल नाम गरेको कर्मचारी पनि गएकी थिइन्।
उनले सांसदहरूलाई सुकुम्बासीको टेन्टभित्र नहेर्न आग्रह गरेकी थिइन्।
'उहाँले व्यक्तिको प्राइभेसीको सम्मान गर्न आग्रह गर्नुभयो। तर त्यहाँ मानिसहरूले सुत्नका लागि सामान्य कालो प्लास्टिकको म्याट्रेस मात्र पाएको बताएका थिए। केही म्याटमा मात्र सुत्ने पनि रहेछन्,' उनले भनिन्।
म्याट पनि सरकारले नभएर अन्य संस्थाले दिएको पाइएको शर्माले बताइन्।
'सामाखुसीबाट ताउलोमा भात पकाएर लगेर खुवाउने रहेछन्', शर्माले भनिन्, 'स्कुल आज छुट्टी भएकाले धेरै बालबालिका पनि थिए। नजिकैको विद्यालयमा केही बालबालिका पढ्न जान थालेका रहेछन्। कतिपय एसइई दिएकाहरूको कहाँ पढ्ने भन्ने चिन्तामा थिए। कक्षा १२ को परीक्षा दिएकाहरू सरकारले पढाइदिए हुन्थ्यो भन्ने आशामा हुनुहुन्थ्यो।'
अनुगमनमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष खनालले सुकुम्बासीहरूलाई राखिएको होल्डिङ सेन्टरमा खानपिनको राम्रो व्यवस्था गरिएको पाइएको बताए।
'त्यहाँ औषधि उपचार र नियमित स्वास्थ्य जाँच भइराखेको रहेछ', खनालले भने, 'धेरै मानिस एकै ठाउँमा भएकाले सरूवा रोग लागे फैलन सक्ने समस्या भने रहेछ।'
खनालले स्कुले विद्यार्थीहरूमा कता पढ्ने भन्ने अन्यौल भेटिएको बताए।
'बसोबास टुंगो लागे कता पढ्ने भन्ने टुंगो लाग्थ्यो भन्ने उनीहरूको कुरा रहेछ', खनालले भने, 'काम गर्ने ठाउँबाट अर्को ठाउँमा लैजाँदा कामको के हुन्छ भन्ने चिन्ता पनि थियो।'
सुकुम्बासीहरूले अहिलेको होल्डिङ सेन्टरमा पनि बाछिटाले असर पारेको गुनासो गरेको खनालले बताए।
संसदीय समितिको अनुगमन बिहीबार बिहान भए पनि सोही समितिमा रहेकी सांसद गीता गुरूङसहित केही सांसद बुधबार साँझ नै होल्डिङ सेन्टरको अनुगमनमा थिए। सेतोपाटीसँगको कुराकानीमा सांसद गुरूङले आफूले धेरैमा मनोवैज्ञानिक त्रास देखेको बताइन्।
'राति ८ बजे माइकिङ गरेर बस्ती भत्काइयो भनेर धेरैमा मनोवैज्ञानिक त्रास रहेछ', गुरूङले भनिन्, ‘होल्डिङ सेन्टरमा औषधिको अभाव छ। शैक्षिक सत्र सुरू भइसकेकाहरूले बच्चाहरूलाई कहाँ पढाउने भन्ने अन्यौल अविभावकमा छ।'
उनले एउटै टेन्टभित्र समेत दुई तीन परिवार राखिएको पाइएको बताइन्।
'सुत्ने ठाउँ फरक भए पनि एउटै टेन्ट दुई तीन परिवारले प्रयोग गर्ने रहेछन्', गुरूङले भनिन्, 'गोपनियता भएन भन्ने उनीहरूको कुरा थियो। खाने विषयमा उनीहरूले गुनासो गरेनन् तर अब के हुन्छ भन्ने त्रासले मानिसहरू विक्षिप्त पाएँ।'
उनले सरकारले सुकुम्बासीहरूलाई आश्वस्त पार्न नसकेको बताइन्।
'आश्वस्त पार्ने काम सरकारको हो। उहाँहरू आत्तिनुभएको छ', उनले भनिन्, 'तर सरकारलाई नै विश्वास गर्नुभएको छैन। कतिपयको रूने कराउने समस्या छ। हाम्रो त यस्तै भयो। बच्चाहरूको भविष्य के होला भनेर धेरैले चिन्ता गर्नुभयो।'
कानुन समितिको बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा मानव अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरेका थिए। उनीहरूले अनुगमनमा जानुपर्ने माग गरेका थिए। समितिले भोली भक्तपुरमा रहेका दुई वटा होल्डिङ सेन्टरको अनुगमन गर्ने कार्यसूची रहेको छ।