नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य रोक्नुपर्ने बताएका छन्।
सरकारले बागमती लगायत नदी किनारामा रहेका सुकुम्बासी बस्ती खाली गरेको थियो।
डडेल्धुरामा आज भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘जनता तर्साएर घर भत्काउने कार्य सरकारले तुरून्त रोक्नुपर्छ, देशका लागि जमिन र जनता उत्तिकै आवश्यक हुन्।’
उनले फरक प्रसंगमा सरकार संसदबाट भागेर अध्यादेशमार्फत शासन चलाउने कुराले संसदको सर्वोच्चतामाथि धावा बोल्न खोजेको आरोप पनि लगाए।
शक्ति सन्तुलनको अवधारणा विपरित कार्यपालिकाबाट न्यायालयको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको सुरूवात हुने र विधिको शासन धरापमा पर्ने हो कि भन्ने आशंका बढ्न थालेको महरको भनाइ छ।
साथै उनले आगामी आर्थिक वर्षको बजेटमा डडेल्धुराका ड्रिम प्रोजेक्टहरूलाई पहिलो प्राथमिकतामा राख्न तीनवटै तहका सरकारसँग माग गरेका छन्।
डडेल्धुरा विमानस्थलको निर्माण, मेडिकल कलेजको शीघ्र विकास र पश्चिम सेती तथा पञ्चेश्वर जस्ता बहुउद्देश्यीय आयोजनाको द्रुत कार्यान्वयनमा उनले जोड दिए।