अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँगको भेटमा इरानलाई दिइराखेको सहयोग कटौती गर्न आग्रह गर्ने भएका छन्।
ट्रम्प दुई दिने भ्रमणका लागि बुधबार चीन जाँदै छन्। सीसँग भेटेर केही महिनाअघि चीनसँग भएको व्यापार सुलहलाई अन्तिम रूप दिन ट्रम्प मार्चको अन्त्यमा चीन जाने कार्यक्रम थियो। तर ट्रम्पले सो भ्रमण इरानसँगको युद्धका कारण स्थगित गरेका थिए।
यो हप्ता हुने भ्रमणमा ट्रम्पले इरानलाई सहायता रोक्न सीलाई दबाब दिने अपेक्षा गरिएको भनेर एक अमेरिकी अधिकारीको हवाला दिँदै फाइनान्सियल टाइम्सले लेखेको छ। इरानलाई सैन्य र गैरसैनिक दुवै प्रयोजनमा आउने वस्तुहरूको निर्यात रोक्नेबारे ट्रम्पले सीसँग कुरा गर्नेछन्।
पछिल्ला दिनमा चीन आफैले पनि ट्रम्पको भ्रमणअघि नै युद्ध अन्त्य गर्न पहल गरेको थियो। तर अहिलेसम्म त्यसको कुनै नतिजा आएको छैन।
ट्रम्पले युद्ध अन्त्य गर्न इरानले राखेको पछिल्लो प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य भनेका छन्।
युद्ध अन्त्य र आणविक कार्यक्रमबारे वार्ताका लागि अमेरिकाले पठाएको १४ बुँदा समेटिएको एकपन्ने समझदारी पत्रमा (एमओयू) इरानले जबाफ पठाएको छ।
इरानले जबाफ पठाएको बताएको केही घण्टापछि ट्रम्पले त्यसलाई अस्वीकार गरेका हुन्।
इरानको प्रस्तावका विस्तृत विवरण सार्वजनिक गरिएको छैन। अनि ट्रम्पले त्यसको कुन पक्ष आपत्तिजनक थियो भन्ने पनि खुलाएका छैनन्।
'मैले भर्खरै इरानका कथित 'प्रतिनिधिहरू' बाट आएको प्रतिक्रिया पढेको छु,' उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, 'मलाई यो मन परेन।'
अमेरिकाले पठाएको मस्यौदामा युद्ध अन्त्यको घोषणा गर्दै ३० दिनको विस्तृत वार्ता सुरू गर्ने प्रस्ताव छ।
उक्त अवधिमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा विस्तृत सम्झौता गर्ने प्रस्ताव गरिएको छ।
एक महिनाको अवधिमा इरानले हर्मुजमा जहाज आवतजावतमा लगाएको प्रतिबन्ध र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी क्रमशः हटाइनेछ।
वार्तामा सबभन्दा पेचिलो विषय अहिले पनि आणविक कार्यक्रमकै छ। इस्लामाबादमा गत महिना भएको वार्तामा इरानले २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अमेरिकाले अडान लिएको मानिन्छ।
इरानले भने पाँच वर्षका लागि मात्र त्यसो गर्न राजी भएको बताइन्छ। अहिले घटीमा १२ वर्ष प्रशोधन रोक्ने सहमति हुने मानिन्छ। तर इरानले रोक लगाइएको समयमा युरेनियम प्रशोधन गरे उक्त अवधि फेरि सुरू गर्ने भनिएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघका निरीक्षकलाई आणविक कार्यक्रमको आकस्मिक निरीक्षण गर्न इरानले दिनुपर्ने र विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने शर्त अमेरिकाले राखेको छ।
यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने तथा विश्वभर रोक्का गरिएका अर्बौं डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाउनेछ।
तर सम्झौतामा हस्ताक्षर हुनेबित्तिकै नभएर इरानले शर्तहरू पालना गरे अमेरिकाले क्रमशः प्रतिबन्ध हटाउने र सम्पत्ति फुकुवा गर्दै जानेछ।
तर इरानले भने अमेरिकी प्रतिबन्धहरू हटाउनुपर्ने, सबै मोर्चामा युद्धको अन्त्य गर्नुपर्ने र हर्मुजमा इरानी व्यवस्थापन सुनिश्चित हुनुपर्नेमा जोड दिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानले सम्झौतामा हस्ताक्षर हुनेबित्तिकै अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तुरून्तै अन्त्य गर्न माग गरेको इरानी संचार माध्यमलाई उद्धृत गर्दै एक्सियसले जनाएको छ।
समझदारी पत्रमा हस्ताक्षर भएपछि ३० दिनसम्म वार्ता गर्ने प्रस्तावित इरानले स्वीकारे पनि ३० दिनको अवधिभित्रै आफ्नो तेल बिक्रीमा लगाइएका अमेरिकी प्रतिबन्धहरू हटाउनुपर्ने अडान राखेको छ।
त्यस्तै प्रारम्भिक हस्ताक्षरसँगै रोक्का गरिएका आफ्ना सम्पत्तिहरू फुकुवा गर्न पनि माग गरेको छ। इरानको यस्तो प्रस्ताव ट्रम्पले अस्वीकार गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)