अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा छलफल गरेका छन्।
इरानसँग जारी वार्तामा प्रगति नभएपछि कसरी अघि बढ्ने भनेर ट्रम्पले आफ्नो राष्ट्रिय सुरक्षा टोलीका वरिष्ठ अधिकारीहरूसँग छलफल गरेका छन्। सो क्रममा सम्भावित सैन्य कारवाही बारे पनि छलफल भएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
ट्रम्पले हालैका दिनहरूमा कूटनीति असफल भएमा इरानका पूर्वाधारहरूमा बमबारी गर्ने सार्वजनिक धम्की पटक–पटक दिएका छन्।
युद्ध अन्त्य र आणविक कार्यक्रमबारे वार्ताका लागि अमेरिकाले पठाएको १४ बुँदा समेटिएको एकपन्ने समझदारी पत्रमा (एमओयू) इरानले १० दिनपछि जबाफ पठाएको छ। इरानले जबाफ पठाएको बताएको केही घण्टापछि ट्रम्पले त्यसलाई अस्वीकार गरे। इरानको जबाफ चित्त नबुझेपछि ट्रम्पले राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका हुन्।
अमेरिकाले पठाएको मस्यौदामा युद्ध अन्त्यको घोषणा गर्दै ३० दिनको विस्तृत वार्ता सुरू गर्ने प्रस्ताव छ।
उक्त अवधिमा स्ट्रेट अफ हर्मुज पुनः खोल्ने, इरानको आणविक कार्यक्रम सीमित गर्ने र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा विस्तृत सम्झौता गर्ने प्रस्ताव गरिएको छ।
एक महिनाको अवधिमा इरानले हर्मुजमा जहाज आवतजावतमा लगाएको प्रतिबन्ध र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी क्रमशः हटाइनेछ।
वार्तामा सबभन्दा पेचिलो विषय अहिले पनि आणविक कार्यक्रमकै छ। इस्लामाबादमा गत महिना भएको वार्तामा इरानले २० वर्षसम्म युरेनियम प्रशोधन पूर्ण रूपमा रोक्नुपर्ने अमेरिकाले अडान लिएको मानिन्छ।
इरानले भने पाँच वर्षका लागि मात्र त्यसो गर्न राजी भएको बताइन्छ। अहिले घटीमा १२ वर्ष प्रशोधन रोक्ने सहमति हुने मानिन्छ। तर इरानले रोक लगाइएको समयमा युरेनियम प्रशोधन गरे उक्त अवधि फेरि सुरू गर्ने भनिएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघका निरीक्षकलाई आणविक कार्यक्रमको आकस्मिक निरीक्षण गर्न इरानले दिनुपर्ने र विस्तारित अनुगमन प्रणाली लागू गर्नुपर्ने शर्त अमेरिकाले राखेको छ।
यसको बदलामा अमेरिकाले इरानमाथि लगाइएका प्रतिबन्ध क्रमशः हटाउने तथा विश्वभर रोक्का गरिएका अर्बौं डलर बराबरका इरानी सम्पत्ति फुकुवा गर्ने प्रतिबद्धता जनाउनेछ।
तर सम्झौतामा हस्ताक्षर हुनेबित्तिकै नभएर इरानले शर्तहरू पालना गरे अमेरिकाले क्रमशः प्रतिबन्ध हटाउने र सम्पत्ति फुकुवा गर्दै जानेछ।
तर इरानले भने अमेरिकी प्रतिबन्धहरू हटाउनुपर्ने, सबै मोर्चामा युद्धको अन्त्य गर्नुपर्ने र हर्मुजमा इरानी व्यवस्थापन सुनिश्चित हुनुपर्नेमा जोड दिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
इरानले सम्झौतामा हस्ताक्षर हुनेबित्तिकै अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तुरून्तै अन्त्य गर्न माग गरेको इरानी संचार माध्यमलाई उद्धृत गर्दै एक्सियसले जनाएको छ।
समझदारी पत्रमा हस्ताक्षर भएपछि ३० दिनसम्म वार्ता गर्ने प्रस्तावित इरानले स्वीकारे पनि ३० दिनको अवधिभित्रै आफ्नो तेल बिक्रीमा लगाइएका अमेरिकी प्रतिबन्धहरू हटाउनुपर्ने अडान राखेको छ।
त्यस्तै प्रारम्भिक हस्ताक्षरसँगै रोक्का गरिएका आफ्ना सम्पत्तिहरू फुकुवा गर्न पनि माग गरेको छ। इरानको यस्तो प्रस्ताव ट्रम्पले अस्वीकार गरेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)