नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आफूसँग परामर्शबिनै सभापति गगन थापाले केन्द्रीय सदस्य मनोनीत गरेको बताएका छन्।
सभापति थापाले सोमबार १९ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
‘सम्बन्धित सबैमा प्रष्ट हाेस् हिजाे वैशाख २८ गते गरिएकाे भनिएकाे केन्द्रीय कार्यसमतिकाे मनाेनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएकाे छैन, मेराे जानकारीमा छैन,’ उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेराे प्रष्ट मत छ- २८ गतेकाे निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएकाे छ।’
गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका १९ नेतालाई सभापति थापाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
खड्काको भनाइ यस्तो छ-
भर्खरै बिशेष महाधिबेशनबाट गठन गरिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तार गरिएको छ। यस विषयमा विभिन्न सञ्चार माध्यममा गरिएका टिप्पणीहरू र देशभरि साथीहरूमा देखिएकाे भ्रम अनि जिज्ञासा र यसमा मेराे भूमिकाका बारेमा उठाइएका प्रश्नका सम्बन्धमा मेराे गम्भीर ध्यानाकर्षण भएकाे छ।
१. केही हप्ता पहिला गगन थापाजीसँग एक्लै र केही दिन अघि गगनजी र विश्वप्रकाशजीसँग सामूहिक भेटघाट-छलफल हुँदा मैले आफ्ना तर्फबाट-
क, देशकाे राष्ट्रियता, इतिहासमा नै अत्यन्त ठूलाे जाेखिममा रहेकाे कुरा केही दृष्टान्त दिएर मेराे धारणा बताएकाे थिएँ।
ख: नेपाली कांग्रेस स्थापना कालदेखि आजसम्मकाे हरेक भूमिका र कालखण्डमा सबैमा भन्दा अप्ठेराे र प्रतिकूलत अवस्थामा उभिएकाे घडि छ।
ग: पपुलिज्मकाे नाममा संविधानबाद र लाेकतन्त्रका आधारस्तम्भ र हाम्रा मूल्यमान्यताहरूमा एक पछि अर्काे आक्रमण निरन्तर भइरहेकाे अवस्था छ। लगायतका विषयहरू ......
यस्ताे अबस्थामा,
२, सर्वप्रथम म प्रष्ट छु र प्रष्ट पार्न चाहन्छु कि नेपाली कांग्रेस पार्टीको बृहत् र सम्पूर्ण एकता नभइ हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी , हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौं। त्यसैले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने जिम्मेवारी मुलतः गगनजीकाे र दाेस्रोमा विश्वजीको हातमा छ, त्यसमा हामी अरूकाे सहयाेगी भूमिका हुन्छ। समय कम छ, अरू सबै कुरा भन्दा सर्वाधिक प्राथमिकतामा राखेर पार्टीलाई सम्पूर्ण रूपमा एक बनाउने अभियानमा आजैदेखि लाग्नुहाेस् भनेर अनुराेध गरेकाे थिएँ।
३, सम्बन्धित सबैमा प्रष्ट हाेस् हिजाे वैशाख २८ गते गरिएकाे भनिएकाे केन्द्रीय कार्यसमतिकाे मनाेनयन सम्बन्धमा मसँग कुनै छलफल परामर्श भएकाे छैन, मेराे जानकारीमा छैन। मेराे प्रष्ट मत छ- २८ गतेकाे निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्नुपर्ने उद्देश्यमा ठेस पुग्न गएकाे छ।
४, विभाजित कांग्रेसले विगतमा धेरै ठूलो हण्डर मात्र खानु परेन, हामीले आम नागरिकको भरोसा र विश्वास पनि गुमाउन पुग्याैं। त्यसैले त्यतिबेला जिम्मेवारीमा रहेका शीर्ष नेता र भूमिकामा रहेका दुवै तर्फका सबैले आत्मसमीक्षा गर्दै पार्टीलाई बृहत् र सम्पूर्ण रूपमा संगठनात्मक र भावनात्मक एकता गराएर अगाडि बढेकाे इतिहासकाे अनुभव हामीसँग छ।
५, हामीले फागुन २१ गते सम्पन्न आम निर्वाचनमा प्राप्त गरेको परिणामले हामीलाई झस्काएको मात्रै हैन ठूलाे क्षतिसमेत बेहाेर्नु पर्याे, यसबाट सबक सिक्दै हामीले नयाँ सोच, दृष्टिकोण र साझा भावधारा सहित सम्पूर्ण एकताका बाट अगाडि बढ्न प्रेरणा लिनु पर्ने संगीन घडिमा उभिएका छाैं।
६, अझै पनि मलाई आशा छ– पार्टीको निर्णायक भूमिकामा बस्ने साथीहरू पार्टीको बृहत् र सम्पूर्ण एकता गरी सामूहिक भावना र साझा विचारबाट अगाडि बढने दिशा तर्फ अग्रसर हुनु हुनेछ।
यो पनि- कांग्रेस केन्द्रीय समितिमा १९ जनाको मनोनयनले पार्टी बृहत्तर एकतामा ठेस पुगेको छ- शेखर कोइराला