बेलायतमा तीन जना मन्त्रीले राजीनामा दिएपछि कियर स्टार्मरको सरकार संकटमा परेको छ।
मंगलबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री स्टार्मरले राजीनामा नदिने भनेपछि तीन कनिष्ठ मन्त्रीहरूले राजीनामा दिएको भनेर समाचार संस्था रोएटर्सले जनाएको छ।
राजीनामा दिने मन्त्रीमा चर्चित सांसद तथा महिला अधिकारकर्मी जेस फिलिप्स, आवास तथा समुदाय विभागकी मियाट्टा फनबुलेह र न्याय विभागकी एलेक्स डेभिस-जोन्स छन्।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री स्टार्मरले लेबर पार्टीले हालै सम्पन्न स्थानीय निर्वाचनमा भोगेको लज्जास्पद हारको जिम्मेवारी लिए पनि राजीनामा नदिने बताए।
सो नतिजालाई लेबरको अहिलेसम्मकै खराब चुनावी हारमध्ये एक मानिन्छ तर पनि नेतृत्व परिवर्तनको प्रक्रिया सुरू गर्न अहिलेसम्म कुनै आधिकारिक कदम चालिएको छैन।
७० भन्दा बढी लेबर सांसदहरूले स्टार्मरलाई पद छोड्न माग गरिरहेका छन्। तर प्रधानमन्त्रीले आफ्ना प्रतिद्वन्द्वीहरूलाई ८१ लेबर सांसदहरूको समर्थन जुटाउन चुनौती दिएका छन्। नेतृत्वको दौड सुरू गर्न आवश्यक न्यूनतम संख्या ८१ हो।
स्टार्मरलाई सार्वजनिक रूपमा समर्थन गर्ने लेबर सांसदहरूको संख्या ९० छ।
यो उनको राजीनामाको समयतालिका माग गर्ने सांसदहरूको संख्याभन्दा अझै पनि बढी छ। तर पनि तीन जना मन्त्रीले राजीनामा दिएपछि उनको सरकार संकटमा परेको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)