राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला सोमबार संसद बैठक छाडेर बीचैमा हिँडेका प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य अवस्था परीक्षण गरी जानकारी गराइयोस् भनी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको छ।
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर व्यंग्यात्मक शैलीमा प्रश्न उठाएका हुन्।
राष्ट्रपतिले बोल्दा बोल्दै संसदीय मर्यादा विपरीत प्रधानमन्त्री बालेन बीचैमा उठेर बाहिरिएको घटनामा सरकारले संसदलाई जबाफ दिनुपर्ने अवस्था आएको आङ्देम्बेले टिप्पणी गरे।
सोमबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बालेन शाह अचानक उठेर हिँडेको दृश्य सार्वजनिक भएपछि त्यसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। यही घटनालाई पृष्ठभूमि बनाएर मंगलबार प्रतिनिधिसभामा बोल्दै आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारमाथि कटाक्ष गरेका हुन्।
उनले प्रधानमन्त्रीको नाम इतिहासमै अनौठो रेकर्डका रूपमा लेखिन सक्ने टिप्पणी गर्दै भने, 'आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ।'
त्यसपछि उनले व्यंग्य मिसिएको शैलीमा थपे, 'यस्तो रेकर्ड राख्न लागेकामा म उहाँलाई बधाई दिऊँ कि दुःख व्यक्त गरौं, सभामुख महोदय?'
प्रधानमन्त्रीको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका बेला आङ्देम्बेले आफू सीधै अमर्यादित बन्न नचाहेको उल्लेख गरे। सँगसँगै, उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा प्रश्न उठाउँदै सरकारसँग औपचारिक जानकारी दिन माग पनि गरे।
'सामाजिक सञ्जालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर म सोझै भन्न चाहन्न,' उनले भने, 'यस्तो पनि हुन सक्छ, अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नुभएको होला।'
त्यसपछि उनले सरकारसँग आग्रह गर्दै भने, 'उहाँको स्वास्थमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्।'
प्रधानमन्त्री अब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मात्र नभई सबैको सम्पत्ति भएको उनको भनाइ थियो।
प्रधानमन्त्री माथिको टिप्पणीमा उनले मानसिक दबाबको प्रसंगसमेत जोडेका थिए।
'हुनसक्छ, सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको,' आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारलाई 'अहंकार र मर्यादाहीन' शैलीको संज्ञा दिँदै भने।
आङ्देम्बेले संसदमा प्रधानमन्त्रीको उक्त व्यवहारले जनताको मन दुखेको पनि बताए।
'हिजोको उहाँको व्यवहरले जनताको मन कुँडिएको छ। देशको शिर झुकेको छ। यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ,' उनले भने।
त्यस्तै, कांग्रेस प्रमुख सचेतक बास्ना थापाले पनि यो घटनामा प्रधानमन्त्री बालेन शाहले जबाफ दिनुपर्ने माग गरेकी छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन्, 'लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा विरलै देखिने दृश्य हिजो देखियो। राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसदबाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन।'
संवैधानिक संस्कार, संसदीय परम्परा र राज्यको उत्तरदायित्वप्रति सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्दै थापाले अगाडि भनिन्, 'यस विषयमा स्पष्ट जबाफ दिइयोस्। यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्नेमा ध्यान जाओस्।'