प्रधानमन्त्री बालेन शाहका प्रेस विज्ञ दीपा दाहालले आज बुधबार सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्री शाहले नदिने पुष्टि गरेकी छन्।
प्रधानमन्त्री बालेनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा जबाफ दिने दाहालले जानकारी दिइन्।
प्रधानमन्त्रीले किन जबाफ दिँदैनन् भन्ने प्रश्नको जबाफमा दाहालले भनिन्, 'हामीलाई प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले जबाफ दिने सूचना आयो, तर यसको कारण हामीसम्म आइपुगेको छैन।'
प्रधानमन्त्री बालेन शाहले संसदीय मर्यादा उल्लंघन गर्दै आएको भनी पछिल्लो समय तीव्र आलोचना हुँदै आएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद बैठक छाडेर हिँडेका र अहिलेसम्म संसदमा एक शब्द नबोलेका प्रधानमन्त्री बालेन शाहले बुधबार नीति तथा कार्यक्रममा जबाफ पनि आफैले नदिन लागेका हुन्।
सामान्यतया सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिने परम्परा छ। यस अनुसार बुधबार संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल क्रममा उठेका प्रश्नको जबाफ दिने उल्लेख थियो।
तर कार्यसूचीमा उल्लेख भए पनि प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने भएका हुन्। उनको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जबाफ दिने तय भएको हो।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजे बस्दैछ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत हुनेछ।
त्यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।