अर्थमन्त्री स्वर्णिम वाग्ले प्रतिनिधि सभा बैठकमै अड्किएपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
राष्ट्रिय सभाको बैठक आज सवा १२ बजेका लागि डाकिएको थियो। बैठकको सुरूआतमा सांसदहरूले धारणा राखेका थिए। आधा घण्टासम्म बैठक सञ्चालन भए पनि नीति तथा कार्यक्रममाथि छलफलको प्रस्ताव पेस गर्न अर्थमन्त्री वाग्ले आइपुगेनन्।
उनी प्रतिनिधि सभाको बैठकमा थिए।
अर्थमन्त्रीलाई पर्खन राष्ट्रिय सभाका अध्यक्षले ५ मिनेटका लागि बैठक रोकेका थिए। तर आधा घण्टा बितिसक्दा पनि वाग्ले राष्ट्रिय सभा पुगेका छैनन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुरी झण्डै ३ सय मिटरको छ।
छलफलको प्रस्ताव पेस नहुँदा नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभामा छलफल सुरू हुन सकेको छैन।
सामान्यतया नीति तथा कार्यक्रम माथिको छलफलको प्रस्ताव र जबाफ प्रधानमन्त्रीले दिने गरेका छन्। तर प्रधानमन्त्री बालेन्द्र शाह सिंहदरबारमै भएर पनि संसदमा गएका छैनन्।