नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन शाहले लोकतन्त्र विकास गर्न खोजेको कि बालेनतन्त्र भनेर प्रश्न गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रधानमन्त्री शाहले संसदमा उपस्थित हुनुपर्ने बताउँदै बालेनतन्त्र विकास गर्न खोजेको बताए।
'यहाँ एउटा प्रश्न जबर्जस्त उठिरहेको छ। अहिलेको सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ। संविधानमा भएबमोजिमको शासन प्रणाली अवलम्बन गरिरहेको हो कि अरू कुनै तन्त्र विकास गरिरहेको हो,' उनले भने, 'प्रधानमन्त्री बालेन शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र पो विकास गर्न खोज्नुभएको हो कि भन्ने आम प्रश्न र जिज्ञासा बनिरहेको छ।’
प्रधानमन्त्री शाहले संसदलाई उपेक्षा गरेको उनले बताए।
'किनभने उहाँले संसदलाई पटक पटक उपेक्षा गर्नुभएको छ। संसदको हुर्मत लिने, अपमान गर्ने काम भएको छ। यसप्रति हाम्रो गम्भीर चासो र चिन्ता छ,’ उनले भने।