नेकपा एमालेका सांसद राजेन्द्र राईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई व्यंग्य गरेका छन्।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा राईलेले खिसिटिउरी गरेका हुन्।
'प्रधानमन्त्री डाक्न सक्नुभएन। तपाईंहरू कमजोर हो। यसमा दुविधा छैन। जुन जुन बहाना बनाए पनि प्रधानमन्त्रीले टेरेन,' राईले भने, 'त्यो त क्लियर हो। यसमा दुविधा छैन।'
राईले रास्वपा सांसदहरूलाई पार्टी व्यवस्थित गर्नकै लागि भए पनि प्रधानमन्त्रीलाई संसदीय मूल्य मान्यता सिकाउन आग्रह गरे।
'लोकतन्त्रमा विश्वास राख्ने र जनमतमा विश्वास राख्ने यत्रो शक्तिशाली पार्टीले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्नु निरिहता हो कि होइन,' राईले भने, 'प्रधानमन्त्री त्यहीँ (सिंहदरबारमा) बसिराख्नु भएको छ। तपाईंहरूले उहाँलाई डाक्नुपर्थ्यो। तपाईंको पार्टीलाई व्यवस्थित ढंगले लैजाने हो भने प्रधानमन्त्रीलाई संसदीय मूल्य मान्यतामा उपस्थित गराउनुपर्थ्यो नि। खै प्रधानमन्त्री!'
उनले प्रधानमन्त्री र छलफलको क्रममा अर्थमन्त्री उपस्थित नभएर जनप्रतिनिधिलाई हेपेको टिप्पणी गरे।
'जनताबाट चुनिएका जनप्रतिनिधिलाई कति हेप्नुभएको,' राईले भने, 'यसको नतिजा राम्रो हुँदैन।'
उनले रास्वपाले चुनावका बेला धेरै नयाँको नारा लगाइएको तर नीति तथा कार्यक्रम भने केपी ओलीको पालामा लेखिएकै डकुमेन्टको डुप्लिकेट भएको बताए।
साथै नीति तथा कार्यक्रममा गाँजा खेती, विदेशबाट नेपालमा मानिस ल्याउने कार्यक्रम नभएको र तमोर जलाशययुक्त आयोजना नभएको बताए।