श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रधानमन्त्रीलाई बोलाएको समाजका लागि बताएका छन्।
सरकारको नीति तथा कार्यक्रमको छलफलमा सामाजिक विकासबारे बोल्दै उनले भनेका छन्- सामाजिक विकासको कुरा गर्दा खेरी, समाज भनेकै सहकार्य हो। यहाँ पनि समाज नभएर यस्तो भएको, प्रधानमन्त्रीज्यूलाई हामीले बोलाइरहनुपर्ने कि भएको भन्दा सहकार्य हो। सत्तापक्ष प्रधानमन्त्रीज्यूहरू हाम्रो अभिभावक हो नि, हामीलाई कहिलै नीति बनाऊँ, बजेट बनाऊँ आउनुस् भन्नुभएन। दलका नेताहरूलाई बोलाए हुन्न?
उनले हामी सबै एउटै प्रणालीका हिस्सा भएको पनि बताए।
‘हामी एउटै सिस्टमका हिस्सा हौं। तपाईंहरू एक्सिलेटर हो भने हामी ब्रेक हौँ। ब्रेक बिनाको गाडी फेल हुन्छ दुर्घटित हुन्छ,’ उनले भने, ‘हामीले किन संवाद नगरेको? संवादै गर्दैनौँ। भेट्दैनौँ। एकले अर्कालाई विरोध गर्नुपर्छ भन्ठान्छौँ। ह्या किन बोलाउने भन्ने मनसाय हुन्छ हाम्रो। यो सबै भएको सहकार्य नभएर हो।’
उनले धार्मिक, जातीय, वर्गीय हिसाबले विभेदलाई समाजबाट हटाउनुपर्ने बताए।
‘हामी सबै मिलेर समाज बन्छ। तपाईं म बिना अधुरो, म तपाईं बिना अधुरो,’ उनले भने।
त्यस्तै, उनले आर्थिक विकासको कुरा गर्दै उनले मोबाइल छोडेर माटो छुने कुरामा नीति तथा कार्यक्रमले जोड दिनुपर्ने बताए।
‘म अर्गानिक टाइपको मान्छे। एआईमा राम्रो राम्रो खानाको, राम्रो राम्रो नानाको, राम्रो राम्रो सहरको नक्सा हामी बनाउन सक्छौँ तर माटो नछोई उत्पादन हुँदैन भन्छु,’ उनले भने।
यति भनेर उनले एउटा गीत सुनाए :
खेतबारी बाँझो राखी आकाशतिर हेर्दा
डुब्न लाग्यो देश आज ज्यूँने शैली फेर्दा
गफैको भरमा मिठो खान राम्रो लाउन खोज्दा
होस गर नेपाली हो देशै डुब्ने दिन आइसक्यो।
‘हामीले माटोलाई फोहोर भन्यौं, माटो ढुंग्या ह्या यस्तो भन्यौं, यस्तो भाष्य खडा गरेर अघि बढ्दा हामीले भोलि हामी आत्मनिर्भर बन्न सक्दैनौँ,’ उनले भने, ‘त्यसैले कृषिलाई प्राथमिकता दिनुपर्छ आर्थिक विकास गर्ने हो भने।’
सबै मिलेर काम गर्न उत्साहित बनाउन सरकारको नीति तथा कार्यक्रम आउनुपर्नेमा उनले जोड दिएका छन्।
उनले कविताको शैलीमा फेरि भने,
तीन करोड नेपालीको छ करोड हात चलाउन पर्छ एकैसाथ
कलमले मात्रै बन्दैन देश औजार समाउनुपर्छ।
अब नीतिले मात्र बन्दैन देश अब श्रमदान गर्नुपर्छ।
‘हामीलाई लिएर हाम्रा पिँढीले सिक्ने हो। हामीले काम नगरे के काम गर्लान्?,’ उनले भने, ‘हामी मोबाइलबाट निस्केर खेतबारीमा जानुपर्छ। त्यसतर्फ यो सरकारले ध्यान देओस् नत्र उत्पादन हुँदैन, भोलि गरिबीको भूमरीमा फस्ने छौँ।’