नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्न नहुने बताएका छन्।
आज पोखरामा पार्टीको गण्डकी प्रदेशस्तरीय भेलामा बोल्दै सभापति थापाले भने, ‘राज्यले लहड र सनकका आधारमा निजी क्षेत्रसँग व्यवहार गर्दै गयो भने हामीले अर्थतन्त्रमा यसको ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।’
निजी क्षेत्र पनि कानुनले बाँधिएको र केही परे कानुनअनुसार अघि बढ्नुपर्ने उनले बताए।
‘निजी क्षेत्रभित्र पनि गलत काम भएका होलान्, त्यसैले त कानुन चाहिन्छ, राज्य चाहिन्छ,’ उनले भने, ‘न्याय, विवेक र करूणाका लागि पनि राज्य चाहिन्छ। तर मैले हिजो समाचार पढ्दै थिएँ- एउटा मन्त्रीजीलाई दुइटा निजी क्षेत्रका मानिससँग कुराकानी गर्न आवश्यक पर्यो, प्रहरी लगाएर उठाएर ल्याइदिने? जसलाई मन लाग्यो त्यसलाई उठाइदिने? यही तरिकाले सरकारले निजी क्षेत्रसँग व्यवहार गर्ने हो भने अर्थतन्त्रमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।’
उनले गल्ती गरेकालाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा कांग्रेस प्रष्ट रहेको उनको भनाइ थियो।