सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले लम्कीचुहा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष बन्ने नियतले अस्पताल सञ्चालन प्रक्रियामा अवरोध सिर्जना गरेको आरोप लगाएका छन्।
उनले बिहीबार पत्रकार सम्मेलन गरी मेयर शाहीको नियतकै कारण अस्पताल बन्धक बन्न नहुने बताए।
पछिल्लो समय उच्च अदालतले प्रदेश सरकारको पक्षमा गरेको निर्णय बमोजिम उसले अस्पतालको व्यवस्थापनका लागि तीन जना कर्मचारी खटाएको थियो।
तर, मेयर शाहीले उनीहरूलाई हाजिर गर्न नदिएर फिर्ता पठाएको आरोप प्रदेश सरकारको छ।
बुधबार मात्रै पनि मेयर शाही विरूद्ध नगरपालिका अगाडि प्रदर्शनहरू भएका थिए। मेयर शाहीले विज्ञप्तिमार्फत् त्यसको विरोध गरेकी थिइन्। मेयर शाहीले अस्पताल कसैको राजनीति गर्ने थलो बनाउन नहुने बताउँदै आएकी छन्।
तर, प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने प्रक्रिया कानुनी तथा संघीय सरकारको स्वीकृतिअनुसार अघि बढाइएको भन्दै मन्त्री खड्काले मेयर शाहीले आफू नै अस्पतालको अध्यक्ष बन्ने सोचका साथ अवरोध सृजना गर्दै आएको बताए।
मन्त्री खड्काका अनुसार २०८१ साल असोज १७ गते आधारभूत अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिएपछि २०८२ साल जेठ २६ गते मन्त्रिपरिषद् स्तरीय निर्णयबाट औपचारिक स्वीकृति प्राप्त भएको बताए।
उनले प्रदेश सरकारले अस्पताल सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन गरिसकेको, लम्कीचुहा नगरपालिकालाई तीन पटकसम्म औपचारिक पत्राचार गरिए पनि मेयर शाहीबाट आवश्यक सहयोग नपाएको उनले गुनासो गरे।
‘अस्पताल व्यवस्थापन समितिको अध्यक्ष स्वयं बन्ने चाहनाका कारण प्रक्रिया अवरूद्ध गरिएको छ,’ मन्त्री खड्काले मेयरप्रति संकेत गर्दै भने, ‘कानुनअनुसार त्यस्तो व्यवस्था नभएकाले प्रदेश सरकारले योग्य र प्रक्रियाअनुसार व्यक्तिलाई व्यवस्थापन समितिमा चयन गरेको हो।’
अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले ४ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको भन्दै मन्त्री खड्काले त्यो बजेट सेवा विस्तार, व्यवस्थापन तथा पूर्वाधार विकासमा खर्च गर्नका लागि भएको बताए।
त्यस्तै, उनले लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने प्रस्ताव स्वयं नगरपालिकाकै मागअनुसार अघि बढाइएको दाबी गर्दै सबै पक्षलाई सहकार्यका लागि आग्रह पनि गरेका थिए।
व्यक्तिगत स्वार्थका कारण नागरिक स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने भन्दै मन्त्री खड्काले आम नागरिकको आवश्यकता केन्द्रमा राख्दै लम्कीचुहा अस्पताललाई थप विस्तार गरी गुणस्तरीय प्रादेशिक अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।