प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि तीन प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले भने बैठक कक्षमै आ-आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका छन्।
प्रतिपक्षी सांसदहरूको विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिन सुरू गरेका छन्।
यसअघि प्रतिपक्षीहरूको विरोधकै कारण संसद बैठक १५ मिनेट स्थगित भएको थियो। सभामुख डिपी अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जबाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गरेका थिए। प्रतिपक्षी सांसदहरू भने प्रधानमन्न्रीको उपस्थितिबिना संसद बैठक चल्न नदिने अडानमा रहे।
प्रतिनिधिसभाको कार्यसूचीमै नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जबाफ दिने उल्लेख थियो। त्यसअघि प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले नै जबाफ दिने उल्लेख थियो।
प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जबाफ दिनुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसदमा गएका छैनन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद छाडेर हिँडेका थिए। त्यस्तै विपक्षी दलका नेताले संसदमा सम्बोधन गर्दा पनि अनुपस्थित थिए।