प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रियसभामा सरकारप्रति पार्टीले अपनाएको रणनीतिलाई 'परिपक्व राजनीतिक सोच' का रूपमा व्याख्या गरेका छन्।
सरकारलाई राष्ट्रिय सभामा अनावश्यक अप्ठ्यारो नपार्ने तर प्रतिनिधि सभामा सशक्त रूपमा प्रश्न उठाएर दबाब सिर्जना गर्ने नीति कांग्रेसले लिएको उनको भनाइ छ।
सामाजिक सन्जालमा लेख्दै शर्माले राष्ट्रिय सभामा विपक्षीको अवस्था तुलनात्मक रूपमा बलियो रहेकाले त्यहाँ अवरोध र टकरावको राजनीति उपयुक्त नहुने संकेत गरेका छन्।
तर प्रतिनिधि सभामा सरकारलाई निरन्तर प्रश्नमार्फत जबाफदेही बनाउन आवश्यक रहेको उनको धारणा छ।
'संख्या बलियो रहेको राष्ट्रिय सभामा सरकारलाई अप्ठ्यारो पार्न उचित हुन्न थियो। तर संख्या कम रहेको प्रतिनिधि सभामा प्रश्न, प्रश्न र प्रश्नले सरकारलाई घेर्न जरूरी थियो,' उनले भनेका छन्।
उनले कांग्रेसको भूमिकालाई न त कमजोरीका रूपमा बुझ्नुपर्ने न त आक्रामकतालाई आवेगका रूपमा लिनुपर्ने बताएका छन्।
'यो लचकता न कमजोरी हो, न यो कठोरता आवेग हो,' शर्माको भनाइ छ।
कांग्रेसले संसदमा परिस्थिति हेरेर जिम्मेवार र सन्तुलित भूमिका निर्वाह गरिरहेको दाबी गर्दै उनले सरकार, अन्य राजनीतिक दल र आम जनताले पार्टीको दृष्टिकोण बुझ्ने विश्वास व्यक्त गरेका छन्।
उनका अनुसार संसदमा प्रतिपक्षको भूमिका केवल अवरोध गर्ने नभई सरकारलाई उत्तरदायी बनाउने पनि हो।
त्यसैले आवश्यक ठाउँमा सहकार्य र आवश्यक ठाउँमा कठोर प्रश्न गर्ने रणनीतिमा कांग्रेस अघि बढेको उनले संकेत गरेका छन्।