प्रतिपक्षी सांसदहरूको बहिष्कार र विरोधबीच प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ।
प्रधानमन्त्री बालेन शाह सरकारको नीति तथा कार्यक्रममा जबाफ दिन नआएपछि नेकपा एमालेसहित चार प्रतिपक्षी दलका सांसदहरूले संसद बैठक बहिष्कार गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने आ-आफ्नो कुर्सीबाट उभिएर विरोध जारी राखेका थिए।
प्रतिपक्षीको निरन्तर विरोध र बहिष्कारबीच प्रतिनिधिसभा बैठकले सर्वसम्मतिबाट नीति तथा कार्यक्रम पारित गरेको हो।
बिहीबारको प्रतिनिधिसभा बैठक बहिष्कार गर्नेमा नेकपा एमालेसहित नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू छन्।
एमालेबाहेक बाँकी तीन दलले सुरूमै बैठक बहिष्कार गरेका थिए। कांग्रेस र एमालेका सांसदहरूले भने बैठक कक्षमै विरोध जारी राखे।
विरोध र नाराबाजीबीच प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममा जबाफ दिन सुरू गरे। उनको जबाफ सकिएपछि नेकपा एमालेका सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन्।
त्यसपछि नीति तथा कार्यक्रममा परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो।
यसअघि प्रतिपक्षीहरूको विरोधकै कारण संसद बैठक १५ मिनेट स्थगित भएको थियो। सभामुख डिपी अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जबाफ दिने जिम्मा अर्थमन्त्रीलाई सुम्पेकाले त्यसको निम्ति तयार हुन सांसदहरूसँग आग्रह गरेका थिए। प्रतिपक्षी सांसदहरू भने प्रधानमन्न्रीको उपस्थितिबिना संसद बैठक चल्न नदिने अडानमा रहे।
प्रतिनिधिसभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जबाफ दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्री शाह भने सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसदमा गएका छैनन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद छाडेर हिँडेका थिए। त्यस्तै विपक्षी दलका नेताले संसदमा सम्बोधन गर्दा पनि अनुपस्थित थिए।