अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई हतियार बेच्ने कि नबेच्ने भन्ने निर्णय चाँडै हुने बताएका छन्।
बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्तापछि एयरफोर्स वानमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले ताइवानलाई प्रस्तावित १४ अर्ब डलर बराबरको हतियार बिक्री स्वीकृत गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताएका हुन्।
'त्यसको निर्णय चाँडै नै हुन्छ,' उनले भने।
ताइवानलाई दिने भनेको १४ अर्ब डलर बराबरको हतियार प्याकेज ट्रम्पले महिनौंदेखि रोकेका थिए।
सीसँगको भेटमा त्यसबारे विस्तृत छलफल भएको पनि ट्रम्पले बताएका छन्।
चीन भ्रमण क्रममा सीले ताइवान मुद्दालाई लिएर द्वन्द्व हुन सक्ने चेतावनी दिएपछि ट्रम्पले नयाँ तनाव नचाहेको संकेत दिएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।
'अहिले हामीलाई ९ हजार ५०० माइल टाढा अर्को युद्ध आवश्यक छैन,' ट्रम्पले पत्रकारहरूसँग भने।
ताइवानलाई थप सैन्य सहयोग दिनुपर्ने पक्षमा रहेका अमेरिकी संसदका केही नेताहरूले चीनलाई रोक्न बलियो सैन्य समर्थन आवश्यक रहेको तर्क गर्दै आएका छन्।
तर केही विश्लेषकहरूका अनुसार अमेरिकाले ताइवानलाई लगातार हतियार र राजनीतिक समर्थन दिए चीन सैन्य कदम चाल्न अझ प्रेरित हुन सक्छ।
ट्रम्पले सन् १९८२ को ‘सिक्स एस्योरेन्स’ नीतिअनुसार अमेरिकाले ताइवानलाई हतियार बिक्रीबारे चीनसँग परामर्श नगर्ने प्रतिबद्धता जनाएको स्वीकार गरे पनि उक्त नीति अहिले पुरानो भइसकेको बताएका छन्।
'१९८२ को सम्झौता छ भनेर कुरा नगर्ने भन्ने हुँदैन, हामीले हतियार बिक्रीबारे पनि कुरा गर्यौँ,' ट्रम्पले भने, 'तर त्यसको अन्तिम निर्णय म आफै गर्छु। मेरो प्राथमिकता युद्ध टार्नेतर्फ हुन्छ।'
ट्रम्पको यस्तो अभिव्यक्तिले ताइपेईस्थित अमेरिका–समर्थक सरकारसँगै जापान र दक्षिण कोरियामा पनि चिन्ता बढाएको बताइएको छ।
विशेषगरी जापानी प्रधानमन्त्री सनए ताकाइचीको ताइवानबारे कडा नीति अमेरिकी धारसँग बाझिन थालेको उल्लेख गरिएको छ। ताकाइचीले ट्रम्पले एयर फोर्स वनबाट फोन गरी सीसँगको वार्ताबारे विस्तृत जानकारी दिएको बताएकी छन्।
यसअघि ट्रम्पले ताइवानलाई हतियार बिक्रीबारे 'ताइवान चलाइरहेको व्यक्तिसँग' पनि कुरा गर्नुपर्ने हुन सक्ने भनेका थिए।
ट्रम्पले ताइवानी राष्ट्रपति लाइ चिङ-ते सँग प्रत्यक्ष संवाद गरे चीन थप आक्रोशित हुन सक्ने विश्लेषण गरिएको छ।
ताइवानभित्र पनि हतियार खरिदको विषय संवेदनशील बनेको छ।
स्वायत्तताको पक्षमा रहेको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी सरकारमा भए पनि संसद्ले प्रस्तावित १४ अर्ब डलरको प्याकेज र गत वर्ष ट्रम्पले स्वीकृत गरेको थप ११ अर्ब डलरको रक्षा सहायता कार्यान्वयनका लागि आवश्यक २५ अर्ब डलर बजेट पारित गर्न महिनौँ लगाएको थियो।
रिपोर्टअनुसार यसअघि स्वीकृत हतियार सम्झौतापछि सीले फेब्रुअरीमा ट्रम्पसँगको कुराकानीमा ताइवानलाई थप हतियार नपठाउन चेतावनी दिएका थिए।
ताइवानले भने यस महिनाको सुरुवातमा मात्रै सम्बन्धित बजेट स्वीकृत गरेको हो।
सी–ट्रम्प शिखर वार्ताअघि ताइवान र उसका समर्थकहरूको मुख्य चिन्ता अमेरिकाले आफ्नो आधिकारिक ताइवान नीति परिवर्तन गर्ने वा ताइवानको स्वतन्त्रताको विरोधमा स्पष्ट धारणा सार्वजनिक गर्ने हो कि भन्ने थियो।
तर अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले अमेरिकाको ताइवान नीति अपरिवर्तित रहेको बताएका छन्।