नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीका ६ जना बालबालिकाहरूलाई पढ्ने व्यवस्था मिलाएका छन्।
सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका ६ जना बालबालिकालाई पढाइको व्यवस्था मिलाइएको हो।
उनीहरूका लागि ललितपुरमा कक्षा १० सम्म छात्रावाससहित पूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।

‘क्षमता भएर पनि आर्थिक अभावका कारण धेरै दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बीचमै रोकिने अवस्था दुःखद यथार्थ बनेको छ। यही अवस्थालाई थोरै भए पनि बदल्ने उद्देश्यले यो पहल गरिएको हो,’ उनले भनेका छन्, ‘यो सम्भव बनाउन साथ दिनुहुने सम्पूर्ण सहयोगी साथीहरू र सहयोगी हातहरूप्रति हार्दिक धन्यवाद।’
उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ मा उम्मेदवार थिए भने पराजित भएका थिए।