नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनमा सहभागी नरहेको पक्षलाई पनि सँगसँगै लिएर जान र पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरिरहेको बताएका छन्।
सार्वजनिक मञ्चहरू तथा पार्टीका नेताहरूको घरघरमा पुगेर पार्टीलाई एकताबद्ध बनाउन आफूले प्रयास गरे पनि कतिपयले पार्टी एकताबद्ध गर्न सभापतिबाट प्रयास नभएको भन्ने वक्तव्य दिने गरेको उनको भनाइ थियो।
प्रजातान्त्रिक विचार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले के गर्दा पार्टी एकताका लागि प्रयास हुने हो भन्ने कुरा भनिदिन पनि आग्रह गरेका छन्।
‘पार्टीलाई मिलाउने मिलाउने मिलाउने भन्दैगर्दा मैले खुला मञ्चबाट सबैलाई सँगसँगै लिएर जाने भनेर भनिरहेको छु भने बन्द कोठामा पनि यही कुरा भनेँ होला, अझ योभन्दा बढी निहुरिएर भने होला,’ उनले भने, ‘हातै जोडेर भनेँ, मेरा अग्रज नेताहरूलाई। अघि यहाँ कुरा भयो अरे, मिलाउन प्रयास नै भएन। मलाई भनिदिनुस्- के गर्यो भने प्रयास हुने हो, अहिले के गर्नुपर्ने हो? दुइटा पार्टी त छैन!’
नेता पूर्णबहादुर खड्काले कर्णाली प्रदेशस्तरीय भेलामा बोल्दै शनिबार आफूले नचाहे पनि 'पार्टी फुटको डिलमा पुगेको र सभापतिको निर्णयमा भर पर्ने' कुरा बताएका थिए। त्यसतर्फ लक्ष्य गर्दै आज सभापति थापाले नेताहरूसँग 'निहुरिएर, हात जोडेर' संवाद गरिरहेको र काम गर्न चाहनेलाई केन्द्रीय समितिमा ल्याइरहेको कुरा बताएका हुन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा को आएको थियो वा आएको थिएन भन्ने आधारमा कोही कसैले अवसर प्राप्त नगर्ने पनि सभापति थापाले बताए।
‘विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन,’ उनले भने।
उनले क्रियाशील सदस्यता अद्यावधिक अभियानबारे पनि केही कुरा राखेका थिए।
‘म कांग्रेस सदस्यता निरन्तर गर्न चाहन्छु, यत्ति भनिदिनुस् भन्दा पनि ल त भन्लास् त, कांग्रेसको सदस्य हुँ भनेर भन्लास् त, कांग्रेस पार्टी सक्काउने? भनेर नेताहरूको अभिव्यक्ति सुनिरहेको छु,’ उनले भने, ‘अद्यावधिक नगर्न आह्वान गर्ने लहर चलेको छ, के भनेको त्यो? अहिले सदस्य रहेकोले म निरन्तर सदस्य हुन चाहन्छु भनिदिनुस् भनेको हो। खोजेर ३० वर्षमुनिकालाई क्रियाशील सदस्य बनाउनुस् भनेको छ। नयाँ विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनाका दरले ३० वर्षमुनिका महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ।’
नेता पूर्णबहादुर खड्का, शेखर कोइराला लगायतले १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण र नयाँ वितरण गरिसकेको भन्दै अद्यावधिक नगर्न आग्रह गरिरहेका छन्। तर संस्थापन पक्षले कांग्रेस आइडीका लागि नाम अद्यावधिक गर्न र नगरे असोजको १५ औं महाधिवेशनमा भाग लिन नपाउने बताइरहेको छ।
सभापति थापाले १४ औं महाधिवेशनबाट आएका केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा ल्याउने काम भइरहेको पनि बताए।
‘पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठूलो पङ्ति बाहिर छ, प्रत्येक नेतालाई ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, जे ठाउँमा राख्ने हो राखेर म उहाँहरूलाई सँगै लिएर काम गर्न चाहन्छु, यो मेरो प्रस्ताव हो,’ उनले भने, ‘अधिवेशन तय भएको छ, त्यसका लागि निर्वाचन, सदस्यता, अनुशासनलगायत समिति छ। क-कसलाई राख्दा निष्पक्ष हुन्छ भन्ने लाग्छ, नाम ल्याउनुस् राखौं।’
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालानिकट १९ जनालाई हालै केन्द्रीय सदस्य पनि मनोनीत गरेका थिए।