नेकपा एमाले सचिवालय बैठक सोमबार बस्दैछ। बैठक सोमबार दिउँसो ३ बजे भक्तपुर गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने एमालेका नेताहरूले बताएका छन्।
आजको बैठकमा कार्यविभाजनलाई प्राथमिकतामा राखिएको छ। गत मंसिरको अन्तिम हप्ता ११ औं महाधिवेशन भएर नयाँ नेतृत्व चयन भए पनि नेताहरूको कार्यविभाजन भएको छैन। केन्द्रीय सदस्यहरूलाई अस्थायी हिसाबले चुनावकेन्द्रित जिम्मेवारी तोकिएको थियो।
स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँट बाँकी नै छ। त्यस्तै विभागीय प्रमुख, उपप्रमुख त्यसको इन्चार्ज तोक्न पनि बाँकी छ।
आज बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कार्यविभाजनको खाका प्रस्तुत गर्ने तयारी रहेको एक पदाधिकारीले बताए।
यद्यपि एमालेभित्र कार्यविभाजनभन्दा पनि पार्टी पुनर्गठनको माग तीव्र बनिरहेको छ। सचिवालय सदस्यहरू नै अध्यक्ष ओलीले विकल्प दिनुपर्ने बताउँदै आएका छन्।
एमालेका गत फागुन २१ को चुनावी समीक्षा पनि भएको छैन। तलबाट चुनावी समीक्षात्मक रिपोर्ट मागे पनि त्यसमाथि छलफल भएको छैन।
अध्यक्ष ओलीको स्वास्थ्यका कारण आज यति धेरै विषयमा छलफल गर्न नभ्याइने नेताहरूको भनाइ छ।
पित्तथैली र हर्नियासमेतको शल्यक्रिया गरेका ओली तंग्रिइसकेका छैनन्। उनी सार्वजनिक कार्यक्रममा पनि निस्किएका छैनन्। ओलीकै स्वास्थ्यका कारण शनिबार बस्ने भनिएको सचिवालय बैठक आजलाई सारिएको थियो।